-काशीराम शर्मा 
बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेको छ तर, उनीहरुलाई पुग्दो आहारा छैन । विसं २०६७ मा स्थापना भएको निकुञ्जमा यतिबेला २१ वटा बाघ छन् । बाघको सङ्ख्या वृद्धि भइरहेको छ, तर उनीहरुका लागि आहारा र पानीको व्यवस्था गर्न निकुञ्जलाई हम्मेहम्मे छ । बाघको सङ्ख्याको तुलनामा यसले आहारा बनाउने जनावरहरु नबढ्दा दीर्घकालीन रुपमा बाघ संरक्षणको काम चुनौतीपूर्ण बन्न पुगेको छ । 

निकुञ्जले शून्य चोरी शिकारीको अवस्था सिर्जना गरी बाघको सङ्ख्यामा वृद्धि ग¥यो । अब भने निकुञ्जसामु बाघको आहारा वृद्धि गर्ने चुनौती आइपरेको छ । यसका लागि बाघको आहारा हुने जनावरको वृद्धि र संरक्षणमा लाग्नु जरुरी भएको छ । कुल ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको ७० प्रतिशत भन्दा बढी क्षेत्रफल चुरे क्षेत्र पर्छ, बाँकी समथल र जङ्गल । 

यी क्षेत्रमा घाँसे मैदानको कमी छ । बाघलगायत जनावरका लागि पिउने पानीको मुहानको कमी छ । प्रतिबाघ १५ देखि ४० वर्ग किलोमिटर क्षेत्रफलको सिमाना रहन्छ । यो हिसाबमा बाघका लागि उचित आहार तथा पिउने पानीका स्रोतसमेत अपर्याप्त छ । बाघले आहारा बनाउने जनावरको संरक्षणसँगै बासस्थानको सुधारमा समेत लाग्नुपर्ने आवश्यकता रहेको संरक्षणकर्मीहरु बताउँछन् । बाघको आहारा जनावरहरु घाँसमा निर्भर हुने हँुदा यस्ता जनावरको संरक्षणका लागि घाँसे मैदानको समेत व्यवस्थापन जरुरी रहेको संरक्षणकर्मी हेमन्तराज काफ्ले बताउनुहुन्छ । 

विज्ञहरूका अनुसार बाघको आहाराका लागि वर्षमा १४ देखि ४० किलोग्रामसम्मका सरदर ५० वटा वन्यजन्तु आवश्यक पर्छ । पछिल्लो गणनामा भेटिएका २३५ बाघलाई पुग्ने आहारा नेपालका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, आसपासका वन क्षेत्र र जैविक मार्गमा छन् । बाघको आहाराका रुपमा रहने मृग, हरिण, चित्तल, जरायो, बँदेल लगायतका वन्यजन्तुको सङ्ख्या पनि सोहीअनुसार वृद्धि भएमा आहारा शृंखलामा मद्दत पुग्ने संरक्षणकर्मी काफ्ले बताउनुहुन्छ । 

विभिन्न कारणले बासस्थान र आहारामा सङ्कुचन हुँदा दुर्लभ पाटेबाघ सङ्कटमा पर्ने सम्भावना रहने समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जालका अध्यक्ष कृष्णलाल चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो – “मानवीय चाप, अतिक्रमण र मिचाहा झारले बाघको बासस्थान घट्छ । घाँसे मैदान नभएर आहारा प्रजाति पनि घट्दाको अवस्थामा बाघको बासस्थानलाई संरक्षण गर्नुपर्छ ।” बासस्थान र आहारा प्रजाति बढाउन सके मानव र बाघबीचको द्वन्द्व कम हुने चौधरीको ठम्याइ छ । 

उहाँले भन्नुभयो – “अहिलेको अवस्थामा बाघले आहारा बनाउने जनावरहरुको संरक्षण गर्नु पहिलो दायित्व हो । बाघले वातावरण जोगाउने भएकाले अनावश्यक रूपमा भइरहेको वन विनाश रोक्न जरुरी छ ।” वन विनाशले बाघको बासस्थान सङ्कटमा पार्ने र बाघको आहारा लोप हुने खतरा रहने भएकाले बाघ जोगाउन चुनौती रहेको उहाँ बताउनुहुन्छ । बाघको आहारा प्रजातिमा चित्तल, लगुना, बँदेल, रतुवा लगायतका जनावर पर्दछन् ।

एउटा बाघले एक पटकमा १५ देखि ४० किलोग्रामसम्म मासु खाने गर्छ जुन उसलाई एक हप्तासम्मका लागि हुन्छ । त्यतिकै मात्रामा उसलाई दिनहुँ पिउने पानीको आवश्यकता पर्दछ । निकुञ्जभित्र पानी र आहाराको कमी हँुदा निकुञ्जका बाघ मानव बस्तीे वरपर जान सक्ने खतरा बढ्छ । जङ्गलमा सहजै शिकार नपाउँदा बाघ जङ्गलबाट बाहिर आउने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्न सक्ने खतरा रहने अध्यक्ष चौधरी बताउनुहुन्छ । 

मांसाहारी जनावर बाघले आहाराको रुपमा चित्तल, जरायो, हरिण, बँदेल, लगुना, रतुवा, गौरीगाई, नीलगाई, लङ्गुर, बाह्रसिङ्गे, चौका, बाँदर खान रुचाउँछ । तर, बाघ पाइने तराईका १२ जिल्लामा मृग प्रजातिका जनावर र चित्तल धेरै छन् । सन् २०१८ मा सार्वजनिक गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा पाटेबाघको सङ्ख्या २३५ वटा रहेका छन् । 

आहाराको अवस्था 

सन् २०१३ को राष्ट्रिय बाघ गणनाका क्रममा गरिएको आहारा सर्वेक्षण र सन् २०१८ को सर्वेक्षणलाई तुलना गर्दा बाघको आहारा प्रजातिको सङ्ख्या घटेको पाइएको छ । बाघको आहारा प्रजातिको घनत्वका आधारमा लिइएको तथ्याङ्कमा बर्दियामा सबैभन्दा बढी आहारा भेटिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क छ । बाघ गणना २०१८ मा सार्वजनिक गरिएको आहारा प्रजातिको घनत्वमा प्रतिवर्ग किलोमिटरका हिसाबमा आहारा प्रजाति निकालिएको थियो । 

आहारा प्रजातिको सर्वेक्षण ‘लाइन ट्रान्जेक्ट’ विधिबाट गरिएको थियो । सर्वेक्षण अनुसार बर्दियामा एक वर्ग किलोमिटर क्षेत्रमा ७७ वटा बाघका आहारा भेटिएका थिए । यसअघि सन् २०१३ को गणनाका क्रममा एक वर्ग किलोमिटर क्षेत्रमा त्यहाँ ९३ वटा बाघका आहारा भेटिएका थिए । बर्दियामा अन्य निकुञ्जको तुलनामा आहारा प्रजाति बढी रहे पनि अघिल्लो तथ्याङ्कको तुलनामा कमी आएको हो । बर्दियामा अहिले ८७ वटा वयस्क बाघ छन् । 

यसअघि त्यहाँ सन् २०१३ मा गरिएको गणनामा ५० वटा बाघ थिए । आहाराको तुलना गर्दा चितवनमा पनि बर्दियापछि आहारा प्रजातिको अवस्था राम्रो छ । चितवनमा प्रतिवर्ग किलोमिटर करीब ७१ वटा आहारा प्रजाति पाइएका थिए । यसअघिको गणनाका क्रममा एक वर्ग किलोमिटरमा ७४ वटा आहारा प्रजाति थिए । त्यहाँ १२० बाट घटेर पछिल्लो गणनामा ९३ वटा बाघको आहारा गणना गरिएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा १६ वटा बाघका लागि प्रतिवर्ग किलोमिटर ६८ वटा आहारा पाइएका छन् । यसअघिको गणनामा १७ वटा बाघका लागि प्रतिवर्ग किलोमिटर ७९ वटा आहारा पाइएका थिए । यहाँ पनि आहारा प्रजाति घटेको देखिएको छ । पर्सा वन्यजन्तु आरक्ष र बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको एक वर्ग किलोमिटरमा क्रमशः २२ र ८ वटा आहारा प्रजाति पाइएका छन् । 

पर्सामा यसअघि २५ वटा र बाँकेमा यसअघि १० वटा आहारा प्रजाति प्रतिवर्ग किलोमिटरमा गणना गरिएको थियो । पर्सामा अघिल्लो गणनामा सात वटा बाघ रहेकामा अहिले १८ वटा बाघ छन् । यसअघि चार वटा बाघ रहेकामा बाँकेमा पछिल्लो बाघ गणनाअनुसार २१ वटा पुगेको निकुञ्जले जनाएको छ ।

विभागको प्रतिवेदनअनुसार पर्सामा बँदेल, मृग, नीलगाई र गौरीगाई बाघका मुख्य आहारा हुन् । यसैगरी, चितवन र बाँकेमा विभिन्न मृग प्रजाति, बँदेल, हरिण र चित्तल बाघका आहारा रहेका छन् । बर्दियामा लङ्गुर, चौका मुख्य आहारा र शुक्लाफाँटामा बाह्रसिङ्गे, चित्तल, बँदेल मुख्य आहारा रहेको पाइएको छ । 

संरक्षणकर्मीहरुका अनुसार पारिस्थितिकीय प्रणाली (इकोसिस्टम)मा बाघ महत्वपूर्ण रहेकाले त्यसको संरक्षणमा आहारा प्रजातिका वन्यजन्तुको संरक्षण जरुरी छ । “बाघ संरक्षणमा थुप्रै चुनौती छन्,” संरक्षणकर्मी काफ्लेले भन्नुभयो । उहाँका अनुसार बासस्थानको खण्डीकरण, सङ्कुचन, मानव र बाघबीचको द्वन्द्व, चोरी शिकारी, अवैध व्यापार तथा रोगव्याधि जस्ता चुनौती एकातिर छन् भने यसको आहारा प्रजातिमा आएको कमी अर्को चुनौती हो ।

राष्ट्रिय निकुञ्ज तथा तराईका जङ्गलहरू बाघका लागि राम्रा बासस्थान रहेकाले इकोसिस्टममा सुधार र पर्याप्त आहाराको व्यवस्था गर्न सरकारले अभियान नै थाल्नुपर्ने काफ्लेको भनाइ छ । “जनताको जीवनस्तरमा सुधार र कानूनको प्रभावकारी कार्यान्वयनबाट नै समाधान हुन्छ,” काफ्लेले भन्नुभयो – “यी सबै व्यवस्था हुन सके बाघको सङ्ख्या दोब्बर हुँदा पनि वासस्थानको समस्या हुँदैन ।” 

आहारा संरक्षणमा सरकारी प्रयास 

सरकारले वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनका लागि पोखरी निर्माण गर्न ६ करोड रुपैयाँ रकमान्तर गरी यसअघि सात वटै प्रदेश सरकारको नाममा पठाइसकेको छ । अर्थ मन्त्रालयले मङ्सिर महिनामा बजेट रकमान्तर गरी सात वटै प्रदेश सरकारलाई उपलब्ध गराएको हो । 

सरकारले नीति तथा कार्यक्रममा चुरे क्षेत्रमा वर्षात्को पानी संरक्षण र पोखरी निर्माण गर्ने उल्लेख थियो । सोहीअनुसार वन्यजन्तुको प्रयोजन र वन डढेलो नियन्त्रण गर्न सरकारले चालु आर्थिक वर्षमा देशभर एक हजार ७८ वटा पोखरी निर्माण गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७९÷८० सम्म यस्ता पोखरीको सङ्ख्या ३ हजार ४०० पु¥याउने सरकारको लक्ष्य छ । 

अर्थ मन्त्रालयका अनुसार वन्यजन्तु तथा डढेलो नियन्त्रणको लागि जङ्गलमा पोखरी निर्माण गर्न सबैभन्दा ठूलो रकम प्रदेश नं २ लाई उपलब्ध गराएको छ, रु १ करोड ४४ लाख । त्यसपछि ठूलो रकम प्रदेश ५ लाई उपलब्ध गराइएको छ ।