काठमाण्डौ । गत २४ घण्टामा देशभर थपिएका संक्रमितको संख्या भन्दा डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ । 
यो अवधिमा देशभर २० हजार ९९२ नमूना परीक्षण भएकोमा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको हो । 

यही अवधिमा देशभर ७ हजार २२६ संक्रमित निको भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने संख्या बढेसँगै निको हुने दर पनि बढ्न थालेको छ । नेपालमा निको हुने दर बढेर आज ७७.२ प्रतिशत पुगेको छ । 

यो दिन संक्रमणको संख्यामा कमीसँगै मृतकको संख्या समेत घटेको छ । गत २४ घण्टामा १०६ कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । नेपालमा कोरोनाबाट हालसम्म ज्यान गुमाउनेहरु कुल ६ हजार ९५१ पुगेका छन् । मृत्युदर १.२८ प्रतिशत रहेको छ ।  

हाल नेपालमा १ लाख १६ हजार ४७६ सक्रिय कोरोना संक्रमित रहेका छन् । 

गत २४ घण्टामा काठमाण्डौमा १७३८ संक्रमित थपिएका छन् । यस्तै, ललितपुरमा ३६४ र भक्तपुरमा २६५ संक्रमित थप भएका छन् ।