काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र एभरेष्ट बैंक लिमिटेडबीच आज लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ। 

सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र एभरेष्ट बैंकका नायब महाप्रबन्धक केशव पौडेललगायत बैंकका विभागीय प्रमुखहरु अन्जु शर्मा र पुष्पराज उप्रेतीको उपस्थिति थियो।  

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै एभरेष्ट बैंकले लघुवित्त तथा विपन्नवर्ग कर्जाअन्तर्गत बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. २० लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म, भूकम्पपीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति रु. ३ लाखसम्म, सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न प्रदान गरिने कर्जामा प्रतिव्यक्ति रु. १० लाखसम्म, सशस्त्र द्वन्द्वबाट प्रभावित व्यक्तिका लागि प्रदान गरिने स्वरोजगार कर्जामा प्रतिव्यक्ति वा परिवार रु. १० लाखसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने रु. १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदानबापत व्यहोर्ने र बाँकी ५० प्रतिशत एभरेष्ट बैंकले कोषमा बुझाउनेछ।

कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा संस्थाले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्नेछ।