काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोषले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक अवधिसम्ममा सम्पन्न मुख्य क्रियाकलाप तथा गतिविधिहरुलाई समेटेर बुलेटिन प्रकाशनमा ल्याएको छ। 

कोषका काम–कारोबारसँग सम्बन्धित महत्वपूर्ण सूचना तथा जानकारी पारदर्शी रुपमा सम्बद्ध सरोकारवालाहरुसमक्ष प्रवाह गर्ने एवं भविष्यका लागि अभिलेखित गर्ने उद्देश्यले कोष स्थापनाको ४९ वर्षपछि बुलेटिन प्रकाशनको सुरुआत भएको हो।  

कोषको सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरे, सञ्चालकद्वय हुमबहादुर केसी र थानप्रसाद पंज्ञानी र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोष परिसरमा आज आयोजित एक कार्यक्रमबीच बुलेटिनको शुभारम्भ गरेका थिए। 

कार्यक्रममा डा. घिमिरेले कोषले थालनी गरेको कामको प्रसंशा गर्दै अर्धवार्षिक रुपमा प्रकाशन गर्ने भनिएको बुलेटिनलाई सम्भव भएसम्म चौमासिक रुपमा प्रकाशन गर्न सकिने सुझाव दिए। उनले संस्था सबल हुन कर्मचारीहरुमा उच्च मनोवलका साथै प्रतिस्पर्धी क्षमता हुनुपर्ने धारणा व्यक्त गर्दै सोहीअनुरुप क्रियाशील हुन कर्मचारीहरुलाई अभिप्रेरित गरे। 

कार्यक्रममा कोषका विभागीय प्रमुख तथा कर्मचारी, मिडियाका प्रतिनिधि, बैंकरलगायतको उपस्थिति थियो।