काठमाण्डौ । कोभिड १९ सँग सम्बन्धित संक्रमित पहिचानमा ढिलाई गरेपछि सर्वत्र आलोचित सरकारले अब निजी प्रयोगशालाहरुलाई पनि परीक्षण गर्न दिने निर्णय गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस व्रिफिङमा यस्तो जानकारी गराएका हुन् । 

मन्त्रालयले तोकेका मापदण्डअनुसार स्थापित निजी प्रयोगशालाहरुले समेत सरकारबाट स्वीकृति लिई संकलन गरिएका नमूनाहरु जाँच्न पाउनेछन् । 
यसरी निजी प्रयोगशालाले पीसीआर विधिबाट कोरोनाको संक्रमण जाँच गर्दा लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले व्यहोर्नेछ । 

केही निजी प्रयोगशालाले परीक्षणका लागि मन्त्रालयमा आवेदन दिए पनि त्यसको टुंगो भने लागेको छैन । अब स्वास्थ्य मन्त्रालयले आवेदन प्राप्त भएका ल्याबहरुको पूर्वाधार तथा अन्य मापदण्ड हेरेर स्वाब परीक्षणको अनुमति दिने बताइएको छ ।