काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवर्द्धित ठूला पूर्वाधार परियोजनामा लगानि बढाउन एसियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन्। 

राजधानीमा शुक्रबार एडीबीका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा ढकालले यस्तो आग्रह गरेका हुन्। ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले निजी क्षेत्रसँगको सहकार्यमा निजी क्षेत्रद्वारा प्रवर्द्धित पूर्वाधार विकासका ठूलठूला परियोजनामा एडीबीलाई लगानीका लागि आग्रह गरे। ‘मुलुकको विकासमा पूर्वाधारको महत्वपूर्ण भूमिका रहन्छ। यहाँहरुले यस्ता पूर्वाधारको क्षेत्रमा लगानी बढाउँदा पूर्वाधारको विकासमा सहयोग पुग्नुकासाथै मुलुकको समग्र विकासमा समेत ठूलो योगदान पुग्नसक्छ। निजी क्षेत्रद्वारा प्रवर्द्धित ठूलठूला पूर्वाधारका परियोजनामा लगानीको प्रशस्त सम्भावना छन्’, उनले भने, ‘स्रोतको अभावमा नेपालको निजी क्षेत्रले ठूलठूला पर्यटन, जलविद्युत, सडक, होटेललगायतका पूर्वाधारमा लगानी गर्न सकेको छैन। यस क्षेत्रमा एडीबीले लगानी विस्तार गर्नुपर्यो।’

ढकालले नेपालको बैंकिङ क्षेत्र लगानीयोग्य पुँजीको अभावबाट गुज्रिरहेको बताउँदै यसको समाधानका लागि पनि एडीबीको सहयोग आवश्यक रहेको बताए। 

उक्त अवसरमा एडीबीका उपाध्यक्ष लाभासले एडीबी यसमा सकारात्मक रहेको बताउँदै नेपालको निजी क्षेत्रसँग सहकार्य गरी सम्भावना रहेका पूर्वाधारका परियोजनामा लगानीका लागि तयार रहेको बताए। 

भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा एडीबीका प्रतिनिधिहरुको समेत उपस्थिति थियो।