काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोनाभाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यका लागि रु. ४९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

निफ्राले यस कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई प्रतिअस्पताल तथा आइसोलेसन केन्द्र ७ लाख रुपैयाँका दरले कुल ४९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो। 

सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको निफ्राले जनाएको छ। 

निफ्राले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी समय–समयमा विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको बताएको छ। यसै सिलसिलामा मुलुकमा कोरोना संक्रमणबाट उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारको तिनै तहका सरकारहरुबाट सोको रोकथाम, नियन्त्रण र उपचारमा भएको पहकदमीको हार्दिक सराहना गर्दै उनीहरुसँग हातेमालो गर्ने निर्णयस्वरूप सहयोग रकम प्रदान गरिएको निफ्राले जनाएको छ।