काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न सहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयनमा सहयोग र सहकार्य गर्ने भएको छ। 

सार्वजनिक निजी साझेदारीका माध्यमबाट यस्तो सहकार्य गर्ने विषयमा निफ्रा र पाँचखाल नगरपालिकाबीच सम्झौता सम्झौतापत्रमा पाँचखालका नगर प्रमुख महेश खरेल र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन्। 

यो सम्झौतासँगै अब निफ्राले पाँचखालमा रहेका सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा सञ्चालनबाट नगरवासीका लागि दैनिक जनजीवनमा सहजीकरण गर्न नगरपालिकाको रणनीतिक कार्य योजनाअन्तर्गत रहेको पाँचखालमा ‘सुविधासम्पन्न सहरी पूर्वाधार विकास तथा निर्माण’ र उक्त परियोजना निर्माण गर्न आवश्यक सहकार्य गर्नेछ। यसका लागि निफ्राले प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटकालागि आवश्यक सहयोग, लगानीको संरचना तय गर्नेलगायतका आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गर्नेछ। 

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित निफ्राले आगामी दिनमा मुलुकका अन्य प्रदेश एवं स्थानीय सरकार÷निकायसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिइएको जनाएको छ।