काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल वेयरहाउजिङ कम्पनीबीच सेयर लगानी सम्झौता भएको छ। 

निफ्राले नेपाल वेयरहाउजिङको नाममा रहेको ५ करोडबराबरको ५ लाख कित्ता सेयर खरिद गर्ने सम्झौता गरेको हो। 

नेपाल वेयरहाउजिङको काठमाण्डौ सिनामंगलस्थित रजिस्र्ड कार्यालयमा एक कार्यक्रमबीच सम्झौतापत्रमा निफ्राका नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयर हाउजिङका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका छन्। 

यो रकम कम्पनीको कुल जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको ७.२७ प्रतिशतबराबर हुन आउँछ। कम्पनीले कुल जारीपुँजीको ८० प्रतिशतले हुन आउने रकम ५५ करोडबराबरको ५५ लाख कित्ता साधारण सेयर विभिनन संस्थागत र व्यक्तिगत लगानीकर्तालाई बिक्री गरेको छ। बाँकी २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँबराबरको १३ लाख ७५ हजार कित्ता साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई बिक्री गर्ने लक्ष्य राखेको छ। 

खाद्यान्न भण्डार गृह निर्माण गरी कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्ने उद्देश्यले यो कम्पनीको स्थापना भएको हो।