काठमाण्डौ । ब्रोकर नम्बर ४७, निभ सेक्युरिटिजले आफूहरुले नेप्सेबाट प्राप्त लगइन वा टर्मिनल दुरुपयोग नगरेको प्रष्ट पारेको छ । 

निभ सेक्युरिटिज प्रालिकी सीइओ सञ्जिला अर्यालले बिजशालासँग कुरा गर्दै आफूहरुले लगइन दुरुपयोग गरी सानिमा बैंकलाई कुनै सहयोग नगरेको प्रष्ट पारेकी हुन् । 

‘हामीले सानिमा बैंकलाई टर्मिनल दिएको भन्ने कुरा निराधार छ ।’ उनले भनिन्–‘कि तपाईहरुले प्रमाण पुर्याउनुहोस्, होइन भने कुनै कम्पनीको यसरी बदनाम गर्न पाइन्न ।’

उनले समाचारमा भनिएजस्तो आफूहरुले लगइन दुरुपयोग गरेको प्रमाणित भए आफूहरु कारबाही भोग्न तयार रहेको समेत बताइन् । ‘अरुलाई टर्मिनल दिने भन्ने कुरा नमिल्ने र गैरकानूनी काम हो ।’ उनले भनिन्–‘यस्तो गैरकानूनी काम निभ सेक्युरिटिजले कहिल्यै गर्दैन ।’ 

सानिमा बैंकले गैरकानूनी ढंगले संचालन गरेको थ्री इन वान खाता अन्तरगत केही ब्रोकरको लगइन दुरुपयोग गरेको समाचार हिजो बिजशालामा प्रकाशित भएको थियो । त्यसमा आफूहरुको नाम जोडिएकोमा सञ्जिलाले आपत्ति जनाएकी हुन् । 

सानिमा बैंकको गैरकानूनी धन्दा प्रकरणमा मुछिएको ब्रोकर नम्बर ६, अग्रवाल सेक्युरिटिजले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।