-राजु पौडेल

बिश्वका अधिकांश मुलकको सेयर बजार आधुनिक, प्रबिधिमैत्री र अन्तर्राष्ट्रिय स्तरका हुँदा पनि हाम्रो देशको सेयर बजार अहिलेसम्म पनि २० औं शताब्दीको जस्तो, पुरानो ढर्राको प्रविधि, काठमाण्डौको रिङरोडमा मात्र सीमित, केही मुठ्ठीभर लगानीकर्ताको हातबाट संचालित छ । नेपालको सेयर बजारमा लाखौं लगानीकर्ताको सम्पत्ति दिनप्रतिदिन खरानी हुँदा, र बजारमा खुलेआम सेयर कर्नरिङ हुँदा पनि लगानीकर्ताको हकहितमा काम गर्ने भनेर स्थापना गरिएका नियामक निकाय आर्थिक प्रलोभनमा परेर टुलुटुलु हेरेर बसेको आरोप लगानीकर्ताहरुले लगाईरहेका छ्न् । यतिबेला बजारमा चर्चाको बिषय बनेको छ राष्ट्रिय बिमा कम्पनी । 

यो कम्पनीको भाद्र २५ गते बसेको संचालक समितिको बैठकले अघिल्लो पटक घोषणा गरेको १२० प्रतिशत बोनस बिमा समितिबाट अनुमति नपाएको भन्दै स्थगित गरेर ३० औं वार्षिक साधारणसभामा पाँच आर्थिक बर्षको वित्तीय विवरण मात्रै पारित गर्ने भनी निर्णय गरेको सूचना कारोवार समयमा नै एउटा अनलाइन पत्रिकामा आएपछि राष्ट्रिय बिमा कम्पनीको सेयरमा उक्त दिन भीषण पहिरो गएको थियो । क्षणभरमै लगानीकर्ताको अर्बौ सम्पत्ति खरानी भयो । 

भाद्र २६ गते उक्त अनलाइन पत्रिकाको समाचारको आधारमा यस कम्पनीको सेयरमा व्यापक कर्नरिङ गर्न सेयर खेलाडीहरु सफल भए । जब कि राष्ट्रिय बिमा कम्पनीको संचालक समितिले गरेको निर्णयको सूचना भाद्र २६ गते मंगलबार बिहान कार्यालय खुल्ने बित्तिकै नेप्सेको वेबसाईटमा आएपछि मात्र अरु संचारमाध्यमबाट उक्त सूचना बाहिर आउनुपर्ने थियो । तर, नेप्सेले कारोवार सकिएपछि मात्र उक्त सूचना आफ्नो वेबसाईटमा राख्यो । नेप्सेले आफ्नो वेबसाईटमा सूचना राख्नुअघि पनि एउटा अनलाइन पत्रिकाले कसरी उक्त सूचना प्राप्त गर्यो भन्ने गम्भीर प्रश्न लगानीकर्ताहरुले  उठाएका छ्न । 

बजारमा यस्ता गम्भीर गतिविधि हुँदा पनि धितोपत्र बोर्डले के हेरेर बसिरहेको छ भन्ने गम्भीर आशंका लगानीकर्ताहरुले गरिरहेका छ्न् । 

राष्ट्रिय बिमा कम्पनीको संचालक समितिले गरेको निर्णयको सूचना नेप्सेको वेबसाईटमा आउनुअघि अनलाइन पत्रिकामा कसरी आयो ? यो सूचना अनलाइन पत्रिकालाई राष्ट्रिय बिमा कम्पनीले दिएको हो कि, नेप्सेले दियो ? यसको तत्काल छानबिन हुनुपर्छ भनेर लगानीकर्ताका संघ र लगानीकर्ताहरुको जोडदार माग छ । 

यो सूचना नेप्सेको वेबसाईटमा आउनुअगाडि अनलाइन पत्रिकामा आउनुमा कि त राष्ट्रिय बिमा कम्पनी दोषी छ कि त नेप्से दोषी छ । पत्रिकाले त के मसाला पाउ भनेर खोजिरहेकै हुन्छन्, मसला पाए लेखिदिए । तर समाचार लेख्दा उक्त समाचारले सेयर बजारमा र लगानीकर्तामा कस्तो मनोबैज्ञानिक असर पार्दछ भन्ने कुरामा पत्रकारहरुले पनि विचार गर्नुपर्दथ्यो, जुन देखिएन । 

त्यो समाचारलाई नकारात्मक रुपमा प्रस्तुत गरेकै कारण क्षणभरमै लगानीकर्ताको अर्बौ सम्पत्ति खरानी भयो । बजारमा यस्ता गतिविधि भएर लगानीकर्ताहरुको सम्पत्ति क्षणभरमै खरानी हुँदा पनि न त धितोपत्र बोर्डले केही बोलेको छ न त बिमा समतिले बोलेको छ, न त नेप्सेले नै यो बिषयमा बोल्न उचित ठानेको छ ।  सम्बन्धित कम्पनी समेत सूचना चुहावट प्रकरणमा रहस्यमय मौनता साँधिरहेको छ । 

यसरी सबै नियामक निकाय तै चूप मै चूप  भएको देख्दा यो सूचना चुहावट काण्ड मिलेमतोमै भएको थियो कि भन्ने आशंका लगानीकर्ताले गर्नु स्वभाविक नै हो ।

नेप्सेको भूमिका पनि बजारमा ठीक देखिएको छैन । कुनै पनि कम्पनीले घोषण गरेको लाभांश अथवा हकप्रद सेयरको नियामक निकायबाट अनुमति नपाएसम्म आफ्नो वेबसाईटमा राख्नुहुँदैन । नेप्सेका यस्ता  सूचनाहरुले पनि लगानीकर्ताहरुलाई  फसाउने काम भइरहेको छ । त्यसकारण आगामी दिनमा नेप्सेले आधिकारिक सूचना मात्र आफ्नो वेबसाईटमा राख्ने काम गर्नुपर्दछ भन्ने लगानीकर्ताहरुको माग छ ।

राष्ट्रिय बिमा कम्पनीको यो सूचना चुहावट काण्डको तुरुन्तै छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्दछ, होइन भने यो सेयर बजार भनेको केही सीमित ब्यक्तिको मात्र कमाइ खाने भाँडो रहेछ भनेर लाखौ साना र नयाँ लगानीकर्ता यो बजारबाट पलायन हुने अवस्था आउनेछ । 

धितोपत्र बोर्डप्रति लगानीकर्ताहरुबीचमा रहेको अलि अलि विश्वास समेत गुम्नेछ। 

यो प्रकरणसँगै बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिको कार्यशैलीप्रति पनि लगानीकर्ताहरु आक्रोशित छ्न् । एकातिर  राष्ट्रबैंकले यति सानो मुलुकमा वित्तीय संस्थाहरुको संख्या अधिक भयो भनेर बैंकहरुलाई फोर्स मर्जरमा लाने कुरा गरिरहेको छ भने अर्कोतिर बिमा समितिले आर्थिक चलखेल गरेर तात्कालीन अध्यक्ष फत्तबहादुर केसीले रोकेको बिमा कम्पनीको लाइसेन्स वर्तमान अध्यक्ष आएपछि धमाधम वितरण गरेको भन्ने कुरा पनि बजारमा उठिरहेको छ । 

पहिले मर्जरको नीति अख्तियार गरिरहेको बिमा समितिले हाल आएर बजार अनुसन्धान नगरी जथाभावी बिमा कम्पनीहरु स्थापन गर्न दिएको, प्रतिवेदन तथा प्रकाशनहरु समयसापेक्ष प्रकाशित गर्न र जनमानसमा बिमा सम्बन्धी सचेतना कार्यक्रम गर्न नसकेको, बिमा कम्पनीहरुको वासलात स्वीकृत गर्न अनावश्यक ढिलासुस्ती गरी लगानीकर्ताहरुलाई परोक्ष असर पारेको, दक्ष तथा पर्याप्त जनशक्ति व्यवस्थापन गर्न नसकेको, बिमा कम्पनीहरुले प्राथमिक सेयर जारी गर्दा ४९ः५१ अनुपातमा सेयर जारी गर्ने व्यवस्था नगरी ३०ः७० को अनुपातमा सेयर जारी गर्ने व्यवस्था गरेपछि बजारमा आइसकेपछि बारम्बार प्रमोटर सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्न दिई साधारण  लगानीकर्ताहरुलाई ठूलो मारमा पार्ने काम गरेको, बिमा समितिबाट अनुमति लिएर पनि लामो समयसम्म हकप्रद सेयर निष्कासन नगरी बसेका बिमा कम्पनीहरुलाई केही गर्न नसकेको, एभरेस्ट इन्स्योरेन्सले पहिला ६०० प्रतिशत हकप्रद सेयर घोषणा गरी सेयरको भाउ उचालेर प्रमोटरहरुले सेयर बेचेर बाहिरिएपछि ६०० प्रतिशत हकप्रद सेयर दिन नमिल्ने कुरा गरेर लाखौ लगानीकर्ताहरुलाई डुबाएको, राष्ट्रिय बिमा कम्पनीले बिमा समितिबाट अनुमति नपाउँदै १२० प्रतिशत बोनसको हल्ला गरेर उक्त कम्पनीको सेयर उचालेर प्रतिकित्ता १७०००-१८००० मा बेची लाखौ लगानीकर्तालाई डुबाउने काम गरेको आदि आरोपहरु बिमा समितिलाई लाग्ने गरेको छ । यो बिषयमा बिमा समितिले जवाफ दिनुपर्दछ । मौनता साँधेर मात्र उन्मुक्ति पाइन्न ।

लगानीकर्ताहरु पनि आफ्नो सम्पत्ति खरानी पार्नमा केही हदसम्म दोषी छ्न् । राष्ट्रिय बिमा कम्पनीको बिगत आर्थिक बर्षका हिसाबहरुको अडिट नगरेको बिबाद सुन्दा सुन्दै पनि कम्पनीले १२० प्रतिशत बोनस घोषणा गरेको हल्लाको पछाडि लागेर उचालिएर सेयर खरिद गर्दा अहिले उनीहरुको सम्पत्ति आधा भन्दा बढिले घटिसकेको अवस्था छ । यो घाटाले धेरै लगानीकर्ता होतोत्साही बनेका छन्। 

लगानीकर्ताहरु यसरी हल्लाको पछाडि दौडिँदा आज उनीहरुको सम्पत्ति खरानी भइरहेको छ । त्यसकारण लगानीकर्ताहरुले पनि कुनै पत्रिकामा आएको समाचारलाई मात्र आधार मानेर हल्लाको पछाडि लागेर सेयर खरिद बिक्री गर्ने काम बन्द गर्नुपर्छ । लगानीकर्ताले कुनै पनि कम्पनीको सेयरमा लगानी गर्नुअघि स्पष्ट योजना बनाएर कम्पनीको वासलातको अध्ययन गरी, कम्पनीको आर्थिक सुशासनको बारेमा बुझेर, कम्पनीका संचालकहरुको बारेमा बुझेर, कम्पनीको प्रगति विवरण हेरेर, कम्पनीले आफ्नो ब्यापारमा के कस्तो प्रगति गरिरहेको छ ? प्रतिसेयर आम्दानी कति छ ? मूल्य आम्दानी अनुपात कस्तो छ ? रिजर्भ फण्डको अवस्था कस्तो छ ? बोनस दिन सक्छ कि सक्दैन ? आदि कुराहरूको अध्ययन र विश्लेषण गरेर मात्र लगानी गर्ने गर्नुपर्छ ।

कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछाडि दौडने प्रवृति लगानीकर्ताले बेलैमा त्याग्न सक्नुपर्छ । तब मात्र आफ्नो सम्पत्ति खरानी हुनबाट जोगाउन सकिन्छ । 

(लेखक नेपाल पुँजीबजार लगानीकर्ता संघका उपाध्यक्ष हुन ।)