काठमाण्डौ । वर्षौदेखि विभिन्न ब्रोकर कम्पनी संचालन गरेर बसेका अनुभवी र भुक्तभोगी सेयर दलालहरुले नेप्से परिसूचक घटिरहे पनि यसले पूँजीबजारमा कुनै खतरा नरहेको भन्दै संयमता अपनाउन लगानीकर्तालाई आग्रह गरेका छन् । 

बिजशालासँग कुरा गर्दै उनीहरुले भनेका छन् कि बजार बढेको बढ्यै मात्र गर्यो भने यसले दुर्घटना निम्त्याउँछ । ‘करेक्सन नै भएन भने त गाह्रो छ नि ।’ ब्रोकर नम्बर २८ संचालन गरेर बसेका ब्रोकर एशोसिएसन नेपालका पूर्व अध्यक्ष नन्दकिशोर मुन्धडाले भने–‘बजार अझै माथि गएर एकैपटक खसेको थियो भने कसैले सम्हाल्न सक्दैन थियो ।’ उनले अहिले बजारमा जस्तो ट्रेण्ड देखिएको छ, बजार तथा लगानीकर्तालाई सच्याउन यो प्रवृति जायज र स्वभाविक रहेको दाबी समेत गरे । ‘बजारलाई यसले अझ दह्रो बनाउँछ ।’ उनले थपे–‘निरन्तर उकालो लागेको थियो बजार, केही दिनदेखिको करेक्सनले सबैलाई सच्चिने मौका मिलेको छ ।’ 

उनको भनाईमा नेपाल धितोपत्र बोर्डको नकारात्मक भूमिकाले समेत यो पटक लगानीकर्ताको मनलाई चञ्चल बनाइदिएको हो । ‘राजनीतिक अवस्था तथा सरकार पनि स्थिर भएन, यसले समेत बजार घटाउन र बढाउन ठूलो भूमिका खेल्यो ।’ उनले भने–‘लगानीकर्ताको मनोबल गिराउने गरी निस्किएका विभिन्न निकायका स्टेटमेन्टहरुले समेत बजारमा यो अवस्था देखिएको हो ।’ 

बजारलाई यसले अझ दह्रो बनाउँछ । निरन्तर उकालो लागेको थियो बजार, केही दिनदेखिको करेक्सनले सबैलाई सच्चिने मौका मिलेको छ । 

उनको विश्लेषणमा बजारमा अझै करेक्सनको संभावना छ । ‘अहिले जति घटेको छ, यसले बजारलाई कुनै खतरा छैन ।’ उनले भने–‘अहिले पनि कम्पनीहरुको मार्केट प्राइस खतरनाक स्थितिमा छैन ।’ उनका अनुसार कम्पनीहरुको ब्यालेन्ससिट पनि राम्रो रहेको र आगामी दिनमा बोनस तथा राइट सेयरको बाढी आउने भएकोले अहिलेको सामान्य घटाईले पूँजीबजारलाई खासै खतरा छैन । ‘लगानीकर्ताहरुले धेरै डराउनुपर्दैन ।’ २०५५ सालदेखि श्रीकृष्ण सेक्युरिटिज लिमीटेड संचालन गरेका बसेका उनले भने–‘घट्नु र बढ्नु बजारको नेचर हो, करेक्सन आउनुपर्छ, कम्तीमा लगानीकर्तालाई सचेत गराउने काम यो गिरावटले गरेको छ ।’ 

अनुभवी ब्रोकर तथा विश्लेषक अञ्जनराज पौड्याल बजारमा आवश्यकता अनुसार घटबढ हुनुलाई बजार परिपक्व हुन थालेको रुपमा बुझ्छन् । ‘यो स्वभाविक हो ।’ उनले थपे–‘जुन गतिमा बढेको थियो, त्यो हेर्दा अझै करेक्सन हुनुपर्छ ।’ उनका अनुसार मौद्रिक नीतिमा हुनसक्ने नयाँ व्यवस्थाका बिषयमा आएका हल्ला, बिमा कम्पनीको चुक्तापूँजी वृद्धि, अनलाइन मिडियाहरुको सशक्त भूमिका, राजनीतिक कारणले समेत बजारमा घटबढको अवस्था देखिएको हो ।

उनका अनुसार बजार घटिरहेको बेला अत्तालिएर सेयर बिक्री गर्नु भन्दा केही समय पर्खिनु हितकर हुने समेत सुझाए । ‘घटिरहेको बजार तुरुन्तै बढ्दैन ।’ उनले थपे –‘ठूलो संस्थागत लगानीकर्ताहरु सेयर बजारमा आउँदैछन् ।’ ठूला लगानी उपयुक्त अवस्था हेरेर बसेकाले केही समयपछि बजार पुनः बढ्न थाल्छ । ठूला लगानीको सहभागिताकै कारण पछिल्लो समय बजारमा एकैदिन करिब ३ अर्बसम्म कारोबार भएको समेत उनले प्रष्ट्याए । ‘अत्तालिनुपर्ने अवस्था छैन ।’ उनले भने–‘संयम भएर कम्पनी विशेषको सबै बित्तीय अवस्था हेरेर लगानी गरे कोही डूब्दैन ।’