काठमाण्डौ । सेयर बजार उकालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। 

आज बजार १६.४९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९५९.१२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेस्क पनि ३.५८ अंकले बढेर ३७१.३१ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर १ अर्ब ८७ करोड रुपैयाँ बढी भएको छ। 

बजार जानकार नयन बास्तोला बजार झरेर न्यून विन्दुमा आउँदा खरिदका लागि लगानीकर्ताले अवसरका रुपमा लिँदा बजार बढेको बताउँछन्। धितोपत्र बोर्डले नयाँ कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरण गर्न सुरु गर्नुले पनि लगानीकर्ताको मनोबल बढ्दा बजारमा सकारात्मक बनेको उनको भनाइ छ। 

बैंकको कर्जाको ब्याजदर घट्दै जानु र बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जानुले पनि लगानीकर्ताहरुको मनोबल बढ्न थालेको बास्तोला बताउँछन्। 

सक्रिय लगानीकर्ता वैकुण्ठ पौडेल पनि सरकारको विकास खर्च बढ्दै जाँदा तरलता पनि सहज हुँदै गएकोले बजारमा सकारात्मक प्रभाव परेको बताउँछन्। ‘अब आउने बजेटमा पुँजीबजारलाई सम्बोधन हुने आशा लगानीकर्तामा देखिन्छ’, उनले भने, ‘बजेटमार्फत पुँजीगत लाभकर घट्ने लगानीकर्ताको विश्वास छ।’

अर्कोतर्फ धितोपत्र बोर्डले एनआरएनलाई पुँजीबजारमा भित्र्याउन कमिटी नै गठन गरेर अध्ययन गरिरहेकोले पनि लगानीकर्ता उत्साहित हुँदा बजार बढेको पौडेल बताउँछन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.६९ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ४.४७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.१७ प्रतिशत, विकास बैंक समूहमा ०.०१ प्रतिशत, लगानी समूहमा ०.५१ प्रतिशत, जीवन बीमा समूहमा १.२० प्रतिशत, लघुवित्त समूहमा २.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२९ प्रतिशत, अन्य समूहमा १.५३ प्रतिशत र व्यापार समूहमा १.६० प्रतिशतको बढोत्तरी भएको छ। 

आज वित्त समूह सर्वाधिक ०.४५ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ०.३१ प्रतिशतले घट्दा आउँदा म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्से सूचीकृतमध्ये २७० कम्पनीका ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक १४ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल लाइफ इन्स्योरेन्सको ७ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ५ करोड ८१ लाख रुपैयाँ, सोल्टी होटेलको ५ करोड ६८ लाख रुपैयाँ, ओरियन्टल होटेलको होटेल्सको ४ करोड ६० लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ४३ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड २३ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ८८ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको ३ करोड ३१ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ३ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन २ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्तको सेयरभाउमा १० प्रतिशत र युनिलिभर नेपालको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

आज यो दिन अजोड इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।