काठमाण्डौ । नेपाली सेयरका बादशाहका रुपमा परिचित निर्मल प्रधानले सेयर लगानीकर्ता उठाइरहेका विषयवस्तु माग नभएर अधिकारको कुरा भएको बताएका छन्। 

राजधानीमा आज सेयर लगानीकर्ताहरुको भेलामा प्रधानले सरकारसँग सेयर लगानीकर्ताहरु माग नभई आफ्नो अधिकार पूरा गर्न आग्रह गरिरहेको बताए। ‘हामी माग्ने होइन, हामीले त हाम्रो अधिकार पूरा हुनुपर्यो भनेका हौँ’, उनले भने, ‘हामीले तिरेको करले अर्थमन्त्री तलब बुझ्छन्, अर्थ मन्त्रालयका कर्मचारी तलब बुझ्छन्। अनि हामीले हाम्रा जहाज अधिकारी पूरा हुनुपर्दैन।’

‘हिजो विष्णु पौडेल अर्थमन्त्री, आज जनार्दन शर्मा छन्, भोलि अर्को आउलान्’, प्रधानले भने, ‘तर सेयर लगानीकर्ताहरु उठाउँदै आएका आफ्ना अधिकारको कुरा राज्यले जसरी पनि पूरा गर्नुपर्छ।’

अहिले सेयर बजारबाट धेरै परिवार आश्रित रहेको प्रधानले बताए। ‘धेरैले यसलाई पूर्ण व्यवसायका रुपमा रोजेका छन्’, उनले भने, ‘त्यसैले सेयर बजार सुधार र विकासका लागि राज्यले सोच्नैपर्छ।’

प्रधानले सेयर धितो कर्जाको ४–१२ क्यापले आफूलाई कुनै फरक नपर्ने बताए। तर, साना लगानीकर्ताहरुले समेत अहिले सेयर धितो कर्जा पाउन छाडेकोमा प्रधानले आपत्ति प्रकट गरे। उनले कम्तीमा पनि साना लगानीकर्ताहरुलाई राहात पुग्ने गरी सेयर धितो कर्जा प्रवाहका लागि प्रत्येक बैंकमा छुट्टै युनिट खडा हुनुपर्ने बताए। 

हाल पुँजीबजारमा देखिएका तमाम नीतिगत समस्या र तिनको निराकरणका लागि रणनीति बनाउने उद्देश्यले आज लगानीकर्ताहरु भेला भएका हुन्। भेलामा अम्बिका पौडेल, छोटेलाल रौनियार, राधा पोखरेललगायतको सहभागिता छ। भेला अझै पनि जारी रहेको छ।