काठमाण्डौ । नेपालको सेयर बजारमा ‘सेयर बादशाह’ उपनामले चिनिने निर्मल प्रधान सेयर धितो कर्जामा ल्याइएको ४–१२ को नीतिमा नेपाल राष्ट्र बैंकले अझै पनि पुनर्विचार गर्नुपर्ने बताउँछन्। 

बिजशालासँगको कुराकानीमा प्रधानले बजार ३२०० बाट खसेपछि ९९ प्रतिशत लगानीकर्ताको सम्पत्ति जोखिममा परेको बताए। ‘यसको मुख्य कारण भनेको राष्ट्र बैंकको ४–१२ को गलत नीति नै हो’, उनले भने, ‘साना लगानीकर्ताले मात्रै सेयर किनेर बजार कहिल्यै पनि बढेको छैन र बढ्दैन पनि।’

त्यसैले बजार बढ्नका लागि राष्ट्र बैंकले एकपटक ठूला लगानीकर्ताको ऋण नवीकरण गरिदिनुपर्ने र ४–१२ को नीतिमा लचक हुनैपर्नै प्रधानको तर्क छ। ‘ब्याजदर बढेर सेयर बजारमा कुनै फरक पर्दैन’, उनले भने, ‘राष्ट्र बैंकको उक्त नीति नै बजारका लागि मुख्य बाधक बनेको छ।’ 

बजारमा अहिले ब्याज बढी तिरेर पनि पैसा नपाउने अवस्था रहेको प्रधान बताउँछन्। ‘सेयर बेचौँ, सबै सेयर बिक्ने अवस्था छैन। पैसा थपेर नवीकरण गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘यसकारण राष्ट्र बैंकले एकपटकलाई भए पनि ४–१२ को नीतिमा लचिलो हुनैपर्छ।’

नवनियुक्त नेपाल धितोपत्र बोर्डका अध्यक्षप्रति लक्षित गर्दै प्रधानले भने, ‘यदि धितोपत्र बोर्डका अध्यक्षले बजारमा हिजो भनेजस्तो साना लगानीकर्ताको हित चाहने हो भने सरकारसँग लबिङ गरेर ४–१२ को नीतिमा पुनर्विचार गर्न लगाउनुपर्छ।’

अब बजार अझै अलिकति तल आएमा मार्जिन कल मेन्टेन गर्नै नसक्ने अवस्था सिर्जना हुने प्रधानको भनाइ छ।