काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ। 

कोभिड संक्रमणको जोखिम बढ्न थालेपछि काठमाण्डौ प्रशासनले आज एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। 

पछिल्लो केही दिनदेखि काठमाण्डौ उपत्यकालगायत जिल्लाहरुमा कोरोना संक्रमण दर उच्च हुँदै गएको, अस्पतालमा भेन्टिलेटर, आईसीयू र आकस्मिक सेवाका बेडहरुमा बिरामीहरुको चाप बढ्दै गएको अवस्था भएकोले सतर्कता अपनाउनु प्रशासनले आग्रह गरेको छ। कोरोना संक्रमण बढ्दै जाँदा तेस्रो लहर आउन सक्ने सम्भावना पनि बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ। 

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडजन्य क्रियाकलाप नगर्न, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठीजस्ता गतिविधिमा संलग्न नहुन, तोकिएको स्वास्थ्य मापदण्ड परिपालना गर्न, मास्कको उचित प्रयोग गर्न, भौतिक दूरी कायम गर्न प्रशासनले सुझाव दिएको छ।