काठमाण्डौ । उपत्यका कोरोनाको हटस्पट बन्दै गइरहेको छ । निषेधाज्ञा खुकुलो भएपछि यो क्षेत्रमा हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै ७३७ कोरोना संक्रमित थपिएका हुन् । यो भनेको देशभर थपिएका कोरोना संक्रमितको झण्डै आधा संख्या हो । 

मन्त्रालयका अनुसार उपत्यकामा सबैभन्दा बढी काठमाण्डौ जिल्लामा मात्रै ६५२ संक्रमित थपिएका छन् । यस्तै, ललितपुरमा ६० र भक्तपुरमा २५ संक्रमित थप भएका छन् । 

उपत्यकाबाहेक धेरै संक्रमित थपिएका जिल्लाहरुमा सुनसरी(७०), सिरहा(२७४), सप्तरी(४४), मोरंग(३५), कास्की(३२), बाँके(४४), रुपन्देही(४५), सल्यान(३३) रहेका छन् । 

हाल देशभर आइसियूमा १७३ संक्रमित उपचाररत् छन् भने भेन्टिलेटरमा २६ संक्रमिको उपचार भइरहेको छ । 

पछिल्लो २४ घण्टामा थप मृत्यु हुनेमा ४ महिला र ४ पुरुष रहेका छन् । मृतक महिलाहरु बारा(४६ वर्षीया), काभ्रे(५५), काठमाण्डौ(७१ र ७४) रहेका छन् भने मृत्यु हुने पुरुषहरुमा सुनसरी(७० वर्ष), सप्तरी(३५ वर्ष), काभ्रे(४१) र कास्की(७० वर्ष) रहेका छन् ।