काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यका लगायतका जिल्लामा लागू भएको निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ । 

शुक्रबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति(सीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो । 

बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएका काठमाण्डौ लगायतका जिल्लामा सर्वसाधारणको चहलपहल बढेको, विभिन्न क्षेत्रमा कडाई नगरिँदा सडकमा भीडभाड समेत बढेको र यसले कोरोना संक्रमणको जोखिमलाई बढाएको भन्दै सीसीएमसीलाई थप कडाई गर्ने निर्णय गरेको हो । 

शुक्रबार बसेको बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा सरकारी कार्यालयहरुको दैनिक कामकाजलाई समेत सीमित पारिने भएको छ । अत्यावश्यक सेवा दिने कार्यालयहरुलाई सीमित जनशक्ति परिचालन गरेर संचालन गर्ने र बाँकीलाई बन्द गर्ने निर्णय भएको हो । 

यस्तै, निषेधाज्ञाको अवधिमा निर्माणका काम सुचारु रहँदा समेत समस्या देखिएको निश्कर्ष निकाल्दै तत्कालका लागि सार्वजनिक निर्माणका सबै काम बन्द गर्ने निर्णय समेत भएको एक मन्त्रीले जानकारी दिएका छन् । यदि कुनै उद्योग वा साइटले काम संचालन गर्नु परे मजदूर तथा कामदारलाई उद्योग वा परियोजना परिसरभित्रै आवासीय सुविधा दिएर राख्नुपर्ने सीसीएमसीको सुझाव छ । 

बैठकले कोरोनाको दोश्रो लहर सुनामीको गतिमा फैलिइरहेको भारतसँगको सीमा नाकामध्ये बहुसंख्यक नाका बन्द गर्ने निर्णय समेत गरेको छ ।

भारतसँगका ३५ मध्ये १३ वटा नाका मात्र संचालन गर्ने र बाँकी २२ वटा बन्द गर्ने निर्णय भएको हो । अब यो निर्णयसँगै काँकडभिट्टा, पशुपतिनगर, भिठ्ठामोड, जोगवनी, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्र खुल्ला रहनेछन् । तर, ती नाकाहरुमा पनि क्वारेन्टिनको यथेष्ठ व्यवस्था गर्नुपर्नेछ । मानिसहरुलाई भारतबाट निर्वाध नेपाल छिर्न दिइनेछैन । 

सबै निजी अस्पताल कोभिड अस्पताल
यसैबीच, सीसीएमसीले कोभिड संक्रमितको उपचारमा बेड अभाव भएको र नेपालमा उपलब्ध स्वास्थ्य पूर्वाधारले थेग्न नसक्ने अवस्था सिर्जना भएको भन्दै देशभरका सबै निजी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गर्नुपर्ने निश्कर्ष निकालेको छ । यसका लागि आवश्यक तयारी थाल्ने निर्णय समेत भएको छ । 

योसँगै अब सरकारले एउटा मापदण्ड तयार गर्नेछ र सोही आधारमा निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गरिनेछ ।