काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिन असार २९ गते (बुधबार) साँझसम्म साढे १२ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

यो कम्पनीले गत असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। 

सीडीएससीका अनुसार यो आईपीओमा आज साँझ ५ बजेसम्म १५ लाख ४८ हजार २९७ आवेदकबाट १ करोड ७५ लाख ७७ हजार ६९ कित्ता ३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १२.५९ गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी १ लाख ३९ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

कम्पनीले १०० अंकित दरका कुल १५ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिने व्यवस्था गरिएको थियो। 

यो आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।