काठमाण्डौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकमा देखिएको अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने बताएका छन्। 

प्रतिनिधिसभामा चलिरहेको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो धारणा राखेका हुन्। उनले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने आवाज पनि उठाएका छन्।

अध्यक्ष लिङ्देनले नीति तथा कार्यक्रम पास गर्नेमा सत्ता पक्षमा घमण्ड देखिएको संकेत गरे। ‘हामीले ल्यायौँ, ताली ठोकेर पास गर्छौं भन्नुभएको छ। त्यो तपाइँले गर्न पाउनुहुन्छ’, उनले भने, ‘तर, मैले अस्तिमात्रै भनेको थिएँ, देश तपाइँहरुको मात्रै होइन। सरकारमा बस्नेको मात्रै होइन। देश बिग्रिँदा खेर सरकारमा बसेकाहरुको मात्रै बिग्रिँदैन, हाम्रो पनि बिग्रिन्छ। आउने पुस्ताहरुको भविष्य बिग्रिन्छ।’

त्यसकारण यो सबैको साझा विषय रहेको लिङ्देनले बताए। ‘त्यसैले नमिलेका विषयहरु फेरि लेखेर ल्याउन अप्ठ्यारो मान्नुहुँदैन’, उनले भने, ‘अहिलेको आर्थिक संकटलाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्दैन। त्यसैले यसलाई पुनर्लेखन गर्न जरुरी छ।’

अध्यक्ष लिङ्देनले हाम्रो परम्परागत सोच र संरचनाले अहिले मुलुकमा देखिएको आर्थिक संकटको सामना गर्न नसक्ने बताए। ‘अहिले देश र दुनियाँ आर्थिक संकट व्यहोरिरहेको छ’, उनले भने, ‘त्यसलाई हाम्रो परम्परागत कार्यशैली, सोच र संरचनाले सामना गर्न सक्दैन।’

त्यसैले यो नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामना गर्न सकिन्छ भन्ने कुरा आउनुपर्नेमा नआएको लिङ्देनको भनाइ थियो। ‘मुलुक सामान्य र ठीकठाक अवस्थामा रहेको बेला ल्याउने खालको नीति तथा कार्यक्रम आएको छ’, उनले भने। 

सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रस्ट नरहेको पनि लिङ्देनले बताए। ‘यसले मुलुकको समस्या पहिचान गर्न सकेको छैन’, उनले भने, ‘आगामी प्राथमिकता छुट्याउने कोसिस नै भएको छैन। त्यसैले छलफल गर्नुैपर्ने प्रशस्त विषय छन्।’