काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १० महिनाभन्दा बढी समयका लागि उपभोक्तालाई उपलब्ध गराउने सक्ने नुन मौज्दात रहेको अभाव हुने हल्लाका पछाडि नलाग्न आग्रह गरेको छ। 

कोरोना भाइरसको त्रास देखाएर नुन अभाव हुने हल्ला फौलाएर बजारमा कालोबजारी सुरु भएको छ। केही उपभोक्ताले बेलैमा २–४ महिनाका लागि पुग्ने नुन खरिद गर्न थालेपछि कालोबजारी गर्ने व्यापारी झनै टेवा पुगेको देखिन्छ। 

यस्तो साल्ट ट्रेडिङले हल्लाका पछाडि नलाग्न आग्रह गर्दै पर्याप्त नुन मौज्दात रहेको र आपूर्तिमा कुनै समस्या नआउने प्रस्ट पारेको हो। साल्ट ट्रेडिङले नुनको आपूर्ति व्यवस्था मिलाउन कर्पोरेसनअन्तर्गतका विभिन्न कार्यालयहरुमा करिब १ लाख ३६ हजार मेट्रिकटन आयोडियुक्त नुन गोदाममा र २२ हजार ५०० मेट्रिकटन मार्गस्थलमा गरी १ लाख ५८ हजार मेट्रिकटन आयोडिनयुक्त नुन बफर स्टक मौज्दात रहेको जनाएको छ। यो नुनले १० महिना बढी समयसम्मका लागि आपूर्ति व्यवस्था मिलाउन सक्ने क्षमता रहेको साल्ट ट्रेडिङले स्पष्ट पारेको। 

साल्ट ट्रेडिङले नुनसँगै चिनीको आपूर्तिमा समेत कुनै अभाव नरहेको आमउपभोक्ता ढुक्क हुन आग्रह गरेको छ। 

केही सञ्चारमाध्यममा नुन र चिनीको अभाव भएको समाचार सम्प्रेषण भएको सम्बन्धमा साल्ट ट्रेडिङले ध्यानाकर्षण भएको जनाएको छ। उसले यसअघि अघोषित नाकाबन्दी, विनाशकारी भुकम्पलगायतका समयमा नेपालमा सहज, सरल र सुपथ मूल्यमा कहीँकतै कुनै अभाव नहुने गरी आयोडिनयुक्त नुनको आपूर्ति व्यवस्था मिलाएकोसमेत अवगत गराएको छ।