काठमाण्डौ । प्रति कित्ता बजार मूल्य ११ सय रुपैयाँ भन्दा माथि रहेको नेको इन्स्योरेन्सको साधारण र संस्थापक सेयर लिलामीमा आएको छ । यो कम्पनीको सेयरमा ध्यान दिएर बोल लगाउने हो भने सस्तोमै सेयर पाउने संभावना छ । 

नेको इन्स्योरेन्सले शुक्रबार(जेठ ५ गते)देखि बिक्री नभएका ८६ हजार ७ सय २९ साधारण सेयर र ६ हजार १ सय ६३ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको सूचना प्रकाशन गरेको हो । 

यो कम्पनीले गत फागुन ३ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा बिक्री नभएका साधारण र संस्थापक सेयर बिक्रीका लागि लिलामीमा राखिएको हो । 

लिलामका लागि आगामी जेठ ११ गतेसम्म बोल लगाउन सकिने र यसको नतिजा जेठ १२ गते दिउँसो १ः३० बजेभित्र सार्वजनिक गरिने बताइएको छ । 

इच्छुक लगानीकर्ताले प्रति कित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य राखेर न्यूनतम १ सय कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । एनएमबी क्यापिटल लिमीटेडले नेकोको बिक्री नभएका सेयरको लिलामी प्रक्रियामा बिक्री प्रबन्धकको काम गर्नेछ । 

नेको इन्स्योरेन्सले एनएमबी क्यापिटलको नक्साल(काठमाण्डौ)स्थित मुख्य कार्यालयमा बोल रकमसहितको आवेदन दिन इच्छुक लगानीकर्तालाई आग्रह गरेको छ । 

नेकोको लिलाममा राखिएको सेयरमा बोल लगाउन चाहने लगानीकर्ताले एनएमबी बैंकमा रहेको ००१३०६०००५४०१००००१८२ नम्बरको खातामा बोल लगाइएको सेयरको कुल रकम जम्मा गर्नसक्नेछन् । लगानीकर्ताले एनएमबी क्यापिटल लिमीटेडको नाममा बनेको गुड फर पेमेन्ट चेकमार्फत समेत आवेदन दिनसक्ने सुविधा दिइएको छ । 

नेको इन्स्योरेन्सले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १२ करोड ८८ लाख खूद नाफा आर्जन गरेको छ । १ सय प्रतिशत हकप्रदको पूँजीकरणपछि यो कम्पनीको चुक्तापूँजी ६४ करोड ८० लाखको उचाईमा पुुग्नेछ । यो कम्पनीको अन्तिम सेयर बिक्री मूल्य प्रतिकित्ता ११७० रुपैयाँ रहेको छ ।