काठमाण्डौ । धितोपत्र बोर्डले नयाँ वर्षदेखि सेयर खरीदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर(प्यान) लिनुपर्ने विषयमा लगानीकर्ताका संघसंगठनले राखेका गुनासा आन्तरिक राजश्व विभागमा पुर्याइदिने प्रतिबद्धता व्यक्त गरेको छ । 

बोर्डका प्रवक्ताले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै बजारको पूर्वाधार, लगानीकर्ताहरुको वित्तीय साक्षरताको अवस्था आदिलाई दृष्टिगत गरी लगानीकर्ताहरुबाट उठाइएका विषयलाई स्थायी लेखा नम्बर लागू गर्ने अधिकारीको रुपमा रहेको आन्तरिक राजस्व विभागसम्म पुर्याइदिने प्रतिबद्धता व्यक्त गरेका हुन् । बोर्डले प्यानको विषयमा भइरहेका नकारात्मक हल्लाको पछि नलागी सुजबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन समेत लगानीकर्तालाई आग्रह गरेको छ । 

नेपाल सरकारको चालु आ.व. २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा उल्लेखित दोस्रो बजारमार्फत शेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयबाट बोर्डलाई निर्देशन प्राप्त भएको र यसको संवेदनशीलतालाई दृष्टिगत गरी प्रणालीगत तथा अन्य पूर्व तयारीका लागि नेपाल स्टक एक्सचेन्ज लिमीटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडलाई लेखी पठाइएको प्रष्टीकरण समेत बोर्डले दिएको छ । 

पान नम्बरको बिषयमा सरोकारवाला र बजारका सम्बद्ध पक्षहरुलाई समेत छलफल गराई पूर्वाधारको तयारीको आधारमा यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने विषयमा बोर्ड सजग रहेको समेत विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्ति आउनुअघि स्थायी लेखा नम्बरको बिषयमा लगानीकर्ताका विभिन्न संघसंगठनले संयुक्त रुपमा धितोपत्र बोर्डमा एक ज्ञापनपत्र बुझाएका थिए । बोर्डका अधिकारीहरुसँग उनीहरुको छलफल समेत भएको थियो ।