काठमाण्डौ । कोरोना संक्रमित भई विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका अन्य २ संक्रमित समेत चाँडै डिस्चार्ज हुने भएका छन् ।
काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचार गराइरहेकी देशकै दोश्रो संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ शनिवार(आज) डिस्चार्ज भएकी छिन्।
उनीपछि सोही अस्पतालको आइसोलेसनमा रहेका धादिङका संक्रमित युवाको अवस्था समेत तीव्र सुधार भएको र उनलाई समेत केही दिनमै डिस्चार्ज गरिने अस्पतालका डा. अनुप बास्तोलाले जानकारी दिएका छन् । ती युवा युएईबाट चैत ६ गते नेपाल आएका थिए । कोरोना पोजिटिभ देखिएपछि उनलाई चैत १२ गते अस्पताल भर्ना गरिएको थियो ।
'प्रसिद्धिबाहेक हाम्रो अस्पतालको आइसोलेसनमा रहनुभएको अर्को बिरामीको पनि राम्रो रिकभरि हुँदैछ, उहाँलाई पनि चाँडै डिस्चार्ज गर्दैछौ ।'-प्रसिद्धिलाई डिस्चार्ज गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा डा. बास्तोलाले भनेका छन् ।
उता, बेल्जियमबाट फर्किएको केही दिनमै कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया कोरोना संक्रमित महिलालाई आइतबार डिस्चार्ज दिइने भएको छ ।
ती महिनाको पछिल्लो २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणमा समेत नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताएका हुन् ।
शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि बिहीबारको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो।
धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार गरिरहेकी ती महिलालाई आइतबार डिस्चार्ज गरिने निर्देशक डा. शर्माले बताए । उनी चैत १९ गतेदेखि आइसोलेसनमा थिइन् । दम र उच्च रक्तचापको बिरामी भए पनि उनले कोरोना भाइरसमाथि जित हासिल गर्न सफल भएकी चिकित्सकहरुले बताएका छन् ।
ती महिला बेल्जियमबाट कतार एयरवेजको जहाज हुँदै नेपाल आएकी थिइन् ।
सो अस्पतालमा उनीसँगै बेल्जियमबाट नेपाल आएकी १९ वर्षीया युवती समेत संक्रमित भई आइसोलेसनमा छिन् । उनको भने पछिल्लो रिपोर्ट पनि पोजिटिभ आएको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago