काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’को आकार बढेको छ। 

१० करोड इकाइसम्म जारी गर्न सकिने गरी हाल योजनाको आकार रु. १ अर्ब रहेकोमा आमलगानीकर्ताको मागबमोजिम सो इकाइ जारी गरिसकिएको छ। यही पुस १७ गतेदेखि लागू हुने गरी थप १० करोड इकाइ जारी गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएसँगै योजनाको आकार वृद्धि भई रु. २ अर्ब कायम भएको छ।

नेपालकै पहिलो खुलामुखी योजनाको रुपमा पुँजीबजारमा स्थापित हुन सफल यस योजनाले सञ्चालनको पहिलो वर्षबाट नै आफ्ना इकाइधनीहरुलाई निरन्तर उचित प्रतिफल दिन सफल भइरहेको छ। जसअन्तर्गत सञ्चालनको ३ वर्षमा कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी औसत वार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरिसकेको छ। जुन हाल सञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा बढी प्रतिफल दिन सफल योजनाका रुपमा रहेको छ।

यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताले योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरक कार्यालयहरुका साथै अनलाइनमार्फत इकाइ खरिदका लागि आवेदन दिएर वा व्यवस्थित लगानी योजना तथा लाभांश पुनः लगानी योजनामार्फत सहभागी भई लगानी गर्न सक्नेछन्। 

नेपालको पुँजीबजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलमार्फत ३ वर्षअघि यस योजना रु. २० करोडको आकारमा सञ्चालनमा आएको थियो। त्यसपछिका दिनमा आमलगानीकर्ताको उल्लेख्य सहभागिता तथा यस योजनाप्रतिको उच्च आकर्षणका कारणले हाल रु. १ अर्बभन्दा बढीको आकारमा संञ्चालनमा रहेको छ। जुन हाल सञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा ठूलो आकारको खुलामुखी योजनासमेत रहेको हो।