-राजु पौडेल
नेपालको सेयर बजारको २० वर्षे इतिहासमा २०७३ साउन १२ गते नेप्से १८८१ पुगेर एउटा नयाँ इतिहास बनेको थियो, तर इतिहास धेरै समयसम्म टिक्न सकेन । त्यस यता निरन्तर रूपमा नेपालको सेयर बजार घटेको घट्यै छ । गत साल नेप्से १८८१ बाट घटदै आएर १२१८ सम्म पुगेर फेरि बजार फर्केर गत साल चैत्रमा १७७० सम्म पुगेको थियो । त्यस यता भने नेपाली सेयर बजार निरन्तर घटिरहेको छ । विगतका चुनावी वर्षका बजारको ट्रेन्डलाई हेर्दा सेयर बजार बढेको पाईन्छ, त्यही ट्रेन्डलाई हेरेर धेरै सेयर लगानीकर्ताका जानकार तथा बिश्लेषकहरुलाई लागेको थियो, यो बर्ष नेपालमा स्थानीय, प्रादेशिक र राष्ट्रिय चुनाव भएको छ, अब त पक्कै पनि बजार बढ्छ । तर बजार बढेन । त्यसपछि नयाँ स्थिर र बलियो सरकार बनेपछि त पक्का पनि बजार बढ्छ भन्ने आशा गरेका थिए, फेरि पनि प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीले शपथ लिदाको दिन मात्र बजार ३६ अंकले बढेको थियो भने त्यस यताका दिनहरूमा निरन्तर घटिनै रहेको छ । सरकारले श्वेतपत्र जारी गरेपछि केही दिन बजार बढ्यो, फेरि ओरालो लाग्न सुरु गर्यो । केही दिन अगाडि नेपालका दुई ठूला कम्युनिस्ट पार्टी बीचमा एकीकरण भयो । अब त देशमा पाँच वर्षसम्म स्थिर सरकार हुने भयो । पक्कै पनि यसको सकारात्मक असर बजारमा देखिएला भनेका थिए, त्यो पनि देखिएन । फेरि यो सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा बजेट भाषण गरे, जुन बजेट भाषणमा पुँजी बजारका बारेमा एउटा कुरा ऋन्त् पुँजीगत लाभकर बाहेक बाँकी सबै कुरा सकारात्मक थिए । अब त बजार बढ्छ कि भन्ने लागेको थियो, तर दुर्भाग्यको कुरा बजेट भाषण पछि त झन बजार निरन्तर ओरालो लागेको लाग्यै छ । देशमा सबै कुरा सकारात्मक हुँदाहुँदै पनि बजार किन यसरी निरन्तर ओरालो लागिरहेको छ भनेर बुझ्नलाई हामीले सामाजिक सञ्जालमा सेयर लगानीकर्ताहरुसँग निरन्तर बजार घटनुका कारण बुझेका थियौ । उहाँहरुले दिनु भएका निरन्तर बजार घट्ने कारण र यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा आज म यो लेखमा चर्चा गर्न गइरहेको छु ।
लगानीकर्ताहरु माझ गरिएको सर्वेक्षण बाट यस्ता देखिए निरन्तर बजार घटनुका कारणहरुः
यस्ता कारणहरुले निरन्तर बजार घट्दा पनि नियामक निकायहरुले बजारको विकास, विस्तार, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउन कुनै पनि पहल नगर्दा पुँजी बजारबाट धेरै लगानीकर्ताहरु पलायन हुनुपर्ने अवस्था आएको छ । नियामक निकायको निकम्मापनले आज बजारबाट विद्यार्थी, गृहिणी, सामान्य नागरिक र कतिपय ठूला लगानीकर्ता पनि पलायन भएका छ्न् । यसरी निरन्तर बजार घटिरहँदा पनि न त सरकार र अर्थमन्त्रालयले चासो दिएको छ, न त धितोपत्र बोर्ड र नेप्सेले नै । जब कि बजार निरन्तर बढ्न थाल्यो भने यी निकम्मा नियामक निकायले दिनका दिन विज्ञप्ति निकाल्न सुरु गर्ने थिए ।
धितोपत्र बोर्डले सेयर शिक्षा दिने नाममा हुम्ला, जुम्ला(जहाँ नागरिकलाई सेयर खरिदबिक्री गर्ने सुविधानै छैन) जस्ता ठाउँमा गएर सेयर तालिम सञ्चालन गरेर भत्ता पचाएर आउँछन् । अब नेपालको पुँजीबजारको विकास र विस्तार गर्न धेरै ढिला भइसकेको छ । हामीभन्दा धेरै पछाडि सुरु गरेका हाम्रा छिमेकी मुलुकका सेयर बजार आज धेरै माथि पुगिसकेका छ्न्, जस्तै म्यानमारको सेयर बजार ।
बजार घट्नुका कारणहरु पहिचान भइसकेका छ्न् । यी कारणहरुको निराकरणका लागि अर्थमन्त्रालय, राष्ट्रबैंक, बिमा समिति, धितोपत्र बोर्ड र नेप्सेले तुरुन्तै विभिन्न नीतिनियम, कानुन, कार्यक्रम र योजना निर्माण गरी अगाडि बढ्नु पर्छ । माथि उल्लेखित कारणहरुको निराकरण गर्न र नेपालको पुँजी बजारलाई प्रविधिमैत्री, सबैको पहुँचमा पुर्याउन, अन्तर्राष्ट्रिय स्तरको बनाउन नेप्सेले जुन प्रतिबद्धता गरेको छ, श्रावण एक गतेदेखि लगानीकर्ताको हातमा हामी अनलाईन प्रणाली दिन्छौ भनेर, त्यसमा अब कुनै बाहनबाजी नगरी अनलाइन ट्रेडिङलाई पछाडी धकेल्न काम नहोस् ।
अहिले ५० वटा ब्रोकर कम्पनीको हातमा नेपालको पुँजी बजार सीमित छ । यिनी ब्रोकर कम्पनीले बजार बढाउन चाहे भने बढाउने, घटाउन चाहे भने घटाउने जुन प्रकारको सिन्डिकेट छ । यो सिन्डिकेटलाई तोडेर आम नेपाली नागरिकको पहुँचमा र हातमा सेयर बजारलाई पुर्याउन तुरुन्तै यो आउने मौद्रिक नीतिमा बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गरियोस्, साथै मौद्रिक नीति पुँजीबजार अनुकूल आओस् । सेयर बजारमा देखिएको अधिक आपूर्तिलाई खपत गर्न अनलाईन ट्रेडिङ र बैंकलाई ब्रोकर लाइसेन्स दिन जति आवश्यकता छ, त्यति नै आवश्यकता गैरआवासीय नेपालीहरुलाई नेपाली पुँजी बजार खुल्ला गर्नु पर्नेछ । त्यसकारण अर्थमन्त्रालय र नियामक निकायले एनआरएनएलाई नेपाली सेयर बजारमा लगानी गर्न र सहज रूपमा मुनाफा लान मिल्ने आवश्यक नीति नियम तत्काल बनाउन पर्छ ।
अनलाइन ट्रेडिङको सुरुवात, बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स, गैरआवासीय नेपालीहरुलाई पुँजीबजारमा भित्राउने काम भयो भने मात्र अहिलेको यो अधिक आपूर्तिको समस्यालाई समाधान गर्न सकिन्छ ।
अहिले बजार घटनुको अर्को प्रमुख कारण बैंकको बढ्दो ब्याजदर पनि हो । जबसम्म ऋणको ब्याजदर घटेर ७, ८ प्रतिशतमा आउँदैन, तबसम्म सेयर बजार बढ्ने अवस्था देखिदैन । त्यसकारण अर्थमन्त्राल्य र राष्ट्रबैंकको पहलमा अहिले बैंकमा देखिएको तरलता समस्या दीर्घकालीन रूपमा समाधान गर्न पहल गर्नुपर्छ । नेपालको सेयर बजार ज्यादै अस्थिर प्रकृतिको छ । बिनाकारण ४०-५० अंकले बढ्ने, बिनाकारण ४०-५० अंकले घटने यस्तो अस्थिर प्रकृतिको बजारमा साना र नयाँ लगानीकर्ता फस्ने प्रबल सम्भावना हुन्छ । त्यसकारण नेपालको सेयर बजारलाई स्थिर प्रकृतिको बनाउनका लागि तुरुन्तै नागरिक लगानी कोष, सञ्चय कोष र अन्य यस्तै प्रकृतिका कोषहरुलाई बजार निर्माता बनाईयोस् । आशा गरौ, बजेटमा यो कुरा परेको छ, अब हाम्रो सेयर बजारले छिट्टै बजार निर्माता पाउने छ ।
अहिले नेपालको सेयर बजारमा दुई चार जना सेयर खेलाडीहरुले विभिन्न हत्कण्डा अपनाएर केही अनलाईन पत्रिकाहरुलाई प्रयोग गरेर आफूले बेचेपछि बजार घटाउन तल्लीन हुने र आफूले किनेपपछि बजार बढाउन जसरी लाग्ने गरेका छ्न् । यिनीहरुको यो चलखेल अनलाइन ट्रेडिङको सुरुवात र बैंकलाई ब्रोकर लाइसेन्स दिएपछि स्वत समाप्त भएर जानेछ र बजार आफ्नो गतिमा चल्न पाउनेछ ।
बजेटमा आएको पुँजीगत लाभकरमा वृद्धिले पनि केही हदसम्म अहिले बजार घटाउन मद्दत गरेको छ । यो पुँजीगत लाभकर सेयरमा नाफा भएपपछि मात्र तिर्ने हो, लगानीकर्ताले मुनाफा हुँदा यति थोरै कर तिर्नका लागि रोइकराईको आवश्यकता छैन । यो कर तिरेपछि फेरि आम्दानी कर तिर्नुपर्ने हो कि भन्ने आशंका लगानीकर्तामा रहेको देखियो । पुँजीगत कर तिरे पछि फेरि आम्दानी कर तिर्नु पर्दैन, यस कुरामा ढुक्क हुनुहोस् ।
नेपाली लगानीकर्तामा सेयर शिक्षाको अभावमा आफैले कम्पनीको बारेमा बुझेर लगानी गर्नुभन्दा पनि अरुको कुरा सुनेरे सामाजिक सञ्जालमा आएका कुराहरु हेरेर बिनाआधार लेखेका अनलाइन पत्रिकाका समाचार पढेर सेयरमा लगानी गर्ने जुन प्रवृति छ, यो प्रवृतिको अन्त्यका लागि सम्बन्धित निकायले व्यापक सेयर शिक्षा दिनुको साथै अहिले कक्षा ११, १२ को पाठ्यक्रम परिमार्जित हुँदै गरेको अवस्थामा सेयर शिक्षालाई पनि ११, १२ को पाठयक्रममा राख्न सकियो भने धेरै राम्रो हुने थियो ।
लगानीकर्ताले पनि हल्लाको भरमा, प्राबिधिक बिश्लेषका धर्कालाई हेरेर भन्दा पनि कम्पनीको वित्तीय अवस्थालाई केलाएर लगानी गर्ने गरौं । सेयर कारोवार गर्ने लगानीकर्तामा धैर्यता पनि हुनु पर्छ । बजार बढेपछि किन्न दौडने, घटेपछि बेच्न दौडने प्रवृत्तिको अन्त्य गरौ । म्युचुअल फण्डहरुलाई सक्रिय बनाउने काम गरौ ।
हुन त बजेटमा प्राइभेट फण्ड, हज फण्ड र भेन्चर फण्ड जस्ता फण्डहरुको व्यवस्था गर्ने कुरा आएको छ । आशा गरौ आगामी दिनमा म्युचुअल फण्डहरुको भूमिका सकारात्मक रहनेछ सेयर बजारका लागि । दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन गरियोस् ता कि दैनिक सेयर कारोवार गर्नु भन्दा दीर्घकालीन लगानी गर्दा फाइदा हुन्छ भन्ने मान्यता लगानीकर्तामा बसोस् । नेप्सेलाई सक्रिय बनाउन नेप्सेको निजीकरण गरियोस् । धितोपत्र बोर्डका कार्यक्रमहरु प्रभावकारी बनाउने बाध्यता सिर्जना गरियोस् । जथाभावी बिनाआधार समाचार लेख्ने अनलाइन पत्रिकाहरुलाई सख्त नियमन गरियोस् ।
बैंक तथा बिमा कम्पनीहरुले हकप्रदबाट भन्दा पनि बोनस सेयर र फोर्स मर्जर बाट चुक्तापुँजी पुर्याउन व्यवस्था गरियोस्, ताकि बजारमा अहिलेको जसरी सेयरको बाढी आउन नपाओस् । अहिलेको सरकारले निजी क्षेत्रको मन जित्ने काम गरोस् । सरकार पुँजीबजार उत्पादनमुलक क्षेत्र हो, यहीबाट पुँजी परिचालन गरी आर्थिक गतिविधि संचालन गर्ने हो भन्ने मान्यताका साथ अगाडि बढोस् र नेपालको पुँजी बजारलाई पनि विविधकरण गरोस् । तब मात्र हाम्रो बजार पनि प्रविधिमैत्री हुँदै अन्तर्राष्ट्रिय स्तरको हुनेछ । अनि मात्र बजारले एउटा नयाँ इतिहास रच्दै अगाडि बढ्नेछ । माथि उल्लेखित कार्यक्रमहरु कार्यान्वयनको लागि लगानीकर्ताको हकहितमा काम गर्छौ भनेर खोलिएका विभिन्न संघ संगठनहरुले नियामक निकायहरुलाई व्यापक दबाब दिनुपर्ने अवस्था छ ।
(लेखक नेपाल पुँजीबजार लगानीकर्ता संघका कोषाध्यक्ष हुन् ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19