काठमाण्डौ । सरकारको प्रक्षेपण विपरीत एशियाली विकास बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत मात्र हुने प्रक्षेपण सार्वजनिक गरेको छ । 

सरकारले ८ प्रतिशत वृद्धिदरको लक्ष्य लिइरहेको बेला एडीबीको यस्तो प्रक्षेपण सार्वजनिक भएको हो । 

एशियाली विकास बैंकले पछिल्लो पटक सार्वजनिक गरेको नेपाल सम्बन्धी म्याक्रोइकोनोमिक अपडेटको क्रममा यस्तो प्रक्षेपण गरेको हो । 

'प्रक्षेपित आर्थिक वृद्धिदर गत १० वर्षकै उच्च हो ।' एडीबीका  नेपालस्थित प्रिन्सिपल अर्थशास्त्री शरद भण्डारीले भनेका छन्-'किनभने गत १० आर्थिक वर्षको नेपालको वृद्धिदर औसतमा ४.३ प्रतिशत मात्र थियो ।'

भण्डारीका अनुसार राजनीतिक स्थायीत्व, सामान्य मनसुन र ठूला पूर्वाधार आयोजना निर्माणले लिएको गतिका कारण वृद्धिदरमा सुधार देखिएको हो ।

एडीबीले संघीय राज्यप्रणालीका लागि आवश्यक स्रोतको व्यवस्थापन प्रक्षेपित दरका लागि ठूलो चुनौति बन्नसक्ने दाबी समेत गरेको छ । 

चालु आर्थिक वर्षमा गत वर्ष २.८ प्रतिशतले बढेको कृषि क्षेत्रको वृद्धिदरमा सुधार भई ३.५ प्रतिशत पुग्ने प्रक्षेपण  गरिएको छ । यसको कारणको रुपमा राम्रो मनसुनलाई प्रस्तुत गरिएको छ । 

औद्योगिक क्षेत्रको बिस्तार ७.२ प्रतिशतले बढ्नेछ भने सेवा क्षेत्रको वृद्धिदर ६.१ प्रतिशत पुग्नसक्नेछ ।

एडीबीले गत वर्षको भन्दा मुद्रास्फिति दर समेत बढ्ने दाबी गरेको छ । चालु आर्थिक वर्षमा मुद्रास्फिति ६ प्रतिशत रहने एडीबीको प्रक्षेपण छ । महंगी बढ्ने कारणको रुपमा एडीबीले भारतको उच्च मुद्रास्फिति दर, पेटोलियम पदार्थमा भएको अचाक्ली वृद्धि र संघीय राज्य प्रणालीको संचालनमा राज्यबाट भएको अचाक्ली खर्चलाई प्रस्तुत गरेको छ ।

वार्षिक बजेट घाटा ६.७ प्रतिशत हुने र पूँजीगत खर्चमा २८ प्रतिशतले वृद्धि हुनसक्ने एडीबीको प्रक्षेपण छ ।