– अर्जुन तिमिल्सिना

प्लस टु को रिजल्ट भर्खरै भयो विद्यार्थीहरू नयाँ गन्तव्य र मोडमा छन् अब के गर्ने ? के पढ्ने कहाँ पढ्ने ? यो पिरलो विद्यार्थीमा मात्र नभएर हरेक अभिभावकमा पनि उत्तिकै छ । आफ्ना छोराछोरीलाई कहाँ पढाउने ? के पढाउने ?

त्यसो त एसईईको रिजल्ट भएपछि पनि हरेक विद्यार्थी र अभिभावकमा यही चिन्ता भेटिन्छ– अबको उच्च शिक्षा कसरी आगाडि बढाउने ? यो समस्या साधारण अभिभावकमात्र नभएर स्वयम् शिक्षक पनि आफ्नो बच्चालाई अब कहाँ पढाउने ? के पढाउने भनेर अलमलमा देखिन्छन् ।

प्लस टुपछि त धेरैको गन्तव्य विदेश हुन्छ । कति अभिभावकले यो बुझेर र कतिले नबुझी लहैलहैमा पनि गलत बाटो लिएको देखिन्छ । सही गन्तव्य र दिशा छान्न सकिएन भने आफ्नो बच्चाले बाटो बिराउन सक्ने कुलतमा फस्न पनि सक्ने देखिन्छ ।

के विदेश पठाउनु यी समस्या को समाधान हो त ? के नेपालको शिक्षा कम्जोर नै छ त ? यो सबै बहसका  विषय हुन सक्छन् तर नेपालको शिक्षा कम्जोर र कामै नलाग्ने भने छैन ।

के प्लस टुपछिको गन्तव्य विदेश नै हो त ? सामान्यतया प्लस्ट टु पास र १८ वर्ष उमेर पुगेपछि एडल्ट भएको मानिने हुँदा विदेशी कलेज र युनिभर्सिटीले विद्यार्थीलाई अफर लेटर दिन सक्छन् भने नेपाली विद्यार्थीहरु पनि भाषाको मापदण्ड पूरा भएपछि भिजाका लागि आवेदन दिन सक्छन् । यो प्रक्रिया देश र युनिभर्सिटीअनुसार फरकफरक हुन्छ ।

आवेदन दिँदैमा सफल हुन्छ भन्ने हुँदैन । विद्यार्थीको आफ्नो स्तर र आफूले पढ्ने कलेज वा युनिभर्सिटीको स्तर मेल खाएन भने आवेदन अस्वीकृत हुने धेरै सम्भावना हुन्छ । त्यो अवस्थामा विद्यार्थीको समय र पैसाको बर्बादी हुने सम्भावना बढी हुन्छ ।

नेपालमा पनि अहिले राजधानीमा र राजधानीबाहिर राम्रा कलेज स्थापना भएका छन् । विदेशका कलेजभन्दा स्तरीय भौतिक सुविधा र गुणस्तरीय  पाठ्यक्रममा चलाएका थुप्रै कलेज नेपालमा छन् । अभिभाबक र विद्यार्थीले के बुझ्न जरुरी छ भने पहेँलो धातु सबै सुन हुँदैन भनेजस्तै अस्ट्रेलिया, बेलायत, अमेरिका भन्दैमा त्यहाँ सबै कलेज र युनिभर्सिटी राम्रा छैनन् ।

यो पंक्तिकार ब्रिटेनमा अध्ययनकै  क्रममा हुँदा दुइटा कोठामा कलेज चलाएको नदेखेको होइन । कति विद्यार्थीको बिचिल्ली भएको समाचार नआएको होइन । छलफलकै क्रममा  एकजना अभिभावक आफ्नी छोरी प्लस टु सकेको र अब अमेरिकामा उच्च शिक्षा पढन जान लागेको कुरा मलाई सुनाए । त्यसपछि मैले सोधेँ– ‘किन अमेरिका ? किन नेपालमा बेच्लर नपढ्ने ?’

उनको जबाफ रह्यो– ‘नेपालमा शान्तिसुरक्षा छैन।’

त्यसपछि मैले अमेरिकामा हुने हरेक महिनाको मास सुटिङको लिस्ट देखाएर भनेँ– ‘वास्तवमा अमेरिका अफगानस्थानभन्दा असुरक्षित छ।’

त्यसपछि उनी सोच्न बाध्य भए ।

यो पंक्तिकार ब्रिटेनमा छँदाको एउटा अनुभव के छ भने हाम्रो कलेजमा एसिया युरोपका अन्य देश र केही ब्रिटेनकै विद्यार्थीहरुसँग एउटै क्लासमा बस्दा जहिले पनि म्याथमेटिक्स र आईटीमा नेपाली र भारतीय विद्यार्थीकै रिजल्ट राम्रो हुन्थ्यो । त्यो बेला हामीलाई के अनुभव भयो भने वास्तवमा नेपालको शिक्षामा कमजोरी छैन । कमजोरी छ भने हाम्रो सोचाइ र  बुझाइ ।

अभिभावकले गम्भीररुपमा के बुझ्न र सोच्न आवश्यक छ भने उच्च शिक्षाका लागि प्लस टु पास हुनेबित्तिकै विदेश जानु आवश्यक छैन । भर्खर प्लस टु पास गरेको कलिलो बच्चाहरुले भोलि विदेशमा गएर आर्थिक अनि मानसिक भार बोक्न तयार छन् त ? के त्यो विद्यार्थीले विदेश गएपछि सही मार्ग समात्न सक्छ ?

अहिले नेपालमा पनि धेरै राम्रा कलेज खुलेका छन् । त्यसैले देखासिकी र लहैलहैमा लाग्नु हुन्न । कुनै बेला भित्र ढिँडो खाएर जुठेल्नोमा भातका सिता फालेजस्तै विदेशमा छोराछोरी नपठाए समाजमा मान–प्रतिष्ठा नहुन देखावटी खोक्रो आडाम्बरी हाम्रो समाज बहकिएको छ । भलै यसको अर्थ विदेश पढ्न जानै हुन्न भन्ने होइन । आफ्नो बच्चा मानसिक अनि शारीरिक रुपमा एक्लै बस्न अनि पढ्न सक्छ र नेपालबाट समस्या परेको बेला आर्थिक सहयोग गर्न पनि सकिन्छ भने कुनै एउटा विदेशी डिग्री लिनु राम्रो हो । यसले देश र समाज दुवैलाई फाइदा नै हुन्छ ।

नेपालमा व्यवस्थापन र बीबीएम अध्ययन किन ?

कुनै बेला राम्रो नम्बर आउनेबितिकै साइन्स नै धेरैको रोजाइ हुन्थ्यो भने अहिले त्यो ट्रेन्ड केही हदसम्म फेरिएको छ । व्यवस्थापन भनेको त्यस्तो व्यवहारिक पाटो हो कि कुनै  ठाउँमा हामीलाई कुनै कार्यक्रम मन नपर्नेबित्तिकै हामी फ्याट्टै भन्छौँ व्यवस्थापन नै राम्रो भएन । यसको अर्थ हो व्यवस्थापन भनेको सर्वव्यापी छ र यसको निकै महत्व छ ।

आज प्रस्ट रूपमा भन्नुपर्दा ‘म्यान मेसिन मटेरिअल मनी र मेथड’ को समीश्रण नै व्यवस्थापन हो । अहिले नयाँ पाठयक्रमअन्तर्गत बीबीएमको कोर्समा यो विषयमा विद्यार्थीलाई गहिरो ज्ञान मिल्छ । अन्तर्राष्ट्रियस्तर र नेपाली बजारको मागअनुसार यो कोर्सको ढाँचा तयार परिएकोले पनि यो विषयको महत्व भविष्यमा अझ बढ्ने देखिन्छ । धेरै विद्यार्थीले ‘बीबीए’ ‘बीबीए’ भन्ने गरेको पनि सुनिन्छ ।  तर कोर्सको फोर्मेसन हेर्दा ‘बीबीए’ भन्दा ‘बीबीएम’ निकै व्यवहारिक र उपयोगी देखिन्छ । बीबीएमले समग्र व्यवस्थापनको प्रतिनिधित्व गर्ने हुँदा विद्यार्थी र अभिभावक अलमलमा पर्नुपर्ने कुनै कारण छैन । 

नेपालमै बीबीएम पढाउने निकै राम्रा  सस्ता र गुणस्तरीय कलेज भएकोले अहिले नै अध्ययनका लागि विदेशको झोला कस्नुपर्ने आवश्यक पनि छैन । स्वदेशमै बसेर आफ्नै परिवारसँग ढुक्कसँग पढ्ने वातावरण भएको र क्रमशः देशमा पनि राजनीतिक वातावरण बन्दै गएकोले पनि देशमै अवसर मिल्ने सम्भावना धेरै छन् । 

(लेखक निस्ट कलेज अफ म्यानेजमेन्ट बनस्थलीका शैक्षिक परामर्शदाता हुन्)