काठमाण्डौ । एशियाली विकास बैंक(एडिबी)ले यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । 

बैंकले यसअघि गत अप्रिल महिनामा गरेको ६.४ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमानलाई संसोधन गर्दै नयाँ वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो । 

यो वृद्धिदर यसअघि नेपाल सरकारले अनुमान गरेको ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर भन्दा निकै कम छ । 

बैंकले कोरोना महामारीका नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारले जारी गरेको निषेधाज्ञा र प्रतिबन्धका कारण नेपालको आर्थिक वृद्धि दरमा तीव्र गिरावट आउने जनाएको छ । 

एडिबीले आज इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुको आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक गरेको हो । 

यस्तै, नेपालमा यो वर्ष मुद्रास्फिति दर ५.५ प्रतिशत कायम हुने एडीबीको प्रक्षेपण छ । दक्षिण एशियाली मुलुकहरुमा नेपालको महंगीदर दोश्रो स्थानमा रहने उसको अनुमान छ । सबैभन्दा बढी मुद्रास्फिति पाकिस्तानमा ७.५ प्रतिशत कायम हुनसक्ने एडीबीको प्रक्षेपण छ । 

सबैभन्दा कम माल्दिभ्सको मुद्रास्फिति १ं.५ प्रतिशतमा सीमित हुने बताइएको छ । भारत र भूटानको मुद्रास्फिति दर समान ४ प्रतिशत हुनसक्ने अनुमान गरिएको छ । 

दक्षिण एशियामा कसको ग्रोथ कति होला ?
एडीबीका अनुसार दक्षिण एशियाली मुलुकहरुमा सन् २०२१ मा सबैभन्दा राम्रो ग्रोथ माल्दिभ्सको १०.५ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । 

त्यसपछि भारतको ८ प्रतिशत, बंगलादेशको ६.८ प्रतिशत, श्रीलंकाको ४.१, पाकिस्तानको २, भूटान १.७ र अफगानिस्तानको पनि नेपालको झै १.५ प्रतिशत जीडीपी ग्रोथ हुने उसको प्रक्षेपण छ ।