– अर्जुन तिमिल्सिना
काठमाण्डौ । कुनै समय थियो। सेयर बजारमा क्षणभरमै करोडौँको कारोबार हुन्थ्यो। एकैदिन २१ अर्ब रुपैयाँसम्मको उच्च कारोबार भएको रेकर्ड पनि बनेको छ। विस्तारै नियामक निकायले कस्दै गएपछि भने सेयर बजारमा कारोबार र भोलुम दुवैमा संकुचन आउन थालेको छ।
बढेको मौका छोपेर केही टाठाबाठा खेलाडीले दोस्रो बजारमा सुको पनि लगानी नगरी अर्बौं रुपैयाँ कुम्ल्याएर कुलेलाम ठोकेको एक ब्रोकरले नाम उल्लेख नगर्ने सर्तमा बताए। ‘एउटा घरमा सधैँ आसपासका मान्छेहरुमात्रै म्यारिज (तास) खेल्थे। एक दिन बाहिरबाट नयाँ मान्छे आयो र उसले एकछिन खेलेर सबै पैसा कुम्ल्याएर गयो’, म्यारिज खेलको उदाहरण दिँदै उनले भने, ‘त्यसपछि पुराना सबै खेलाडीको गोजी खाली भयो। तास खेलाउनले भने केही रकम उठायो। अहिले सेयर बजारमा भएको त्यही हो।’
ती ब्रोकरका अनुसार केही हाइड्रो कम्पनीले आयोजनाको लागतभन्दा दोब्बर हिसाब देखाएर रु. १०० मा प्राथमिक सेयर निष्कासन गर्छन्। ‘त्यही सेयर दोस्रो बजारमा आउँदा ५०० देखि १ हजार ५०० रुपैयाँसम्म पुग्छ’, ती ब्रोकरले भने, ‘हाइड्रोका संस्थापकहरुले दोस्रो बजारमा १ कित्ता सेयर पनि किनेका हुँदैनन्, बरु हरेक बुलमा यसरी नै उच्च मूल्यमा सेयर बेचेर दोस्रो बजारबाट अर्बौं पैसा लानेमात्रै गर्छन्। यस्तो अवस्थाको जोखिम कसले हेर्ने ?’
हाइड्रो कम्पनीहरुको लकिङ पिरियड ३ वर्षमात्र हुने हुँदा समस्या झन जटिल बन्दै गएको ती ब्रोकरले बताए। ‘साना र नयाँ लगानीकर्ता जता बढ्यो उतै र हकप्रदको पछि लाग्छन्। यिनैमा रहेछ फाइदा, गर्नुपर्ने खास सेयर कारोबार रहेछ भन्ने भान हुन्छ’, बजारको वास्तविकता बताउँदै ती ब्रोकरले भने, ‘जब बजारले च्याप्दै जान्छ अनि कति त बजार नै नफर्किने गरी पलायन पनि हुन्छन्।’
अर्का एक ब्रोकरको भनाइ भने फरक छ। सेयर बजारमा सबै जानेबुझेर नै आउने भएकोले कसैले कसैलाई फसायो भन्नु गलत हुने ती ब्रोकरको तर्क छ। ‘बैंक खाता खोल्नेदेखि ब्रोकर हाउससम्म आउन धेरै लामो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ’, ती ब्रोकरले भने, ‘सामान्य मानिस ब्रोकर हाउससम्म नै आउन सक्दैन। टाठाबाठा नै हुन् सेयर कारोबार गर्ने। कसैले कसैलाई फसायो भन्नु सरासर अबुझ कुरा हो।’
ती ब्रोकर जोखिम मोल्न नसक्नेहरुलाई सेयर बजार नआउन सल्लाह दिन्छन्। ‘आफ्नो गल्तीले अरुलाई गाली गरेर हुन्छ ?’, ती ब्रोकरले प्रश्न गरे।
नाम उल्लेख नगर्ने सर्तमा अर्का एक चिरपरिचत ब्रोकरले अब बजार सेयर धितो कर्जाको सीमा र सीडी रेसियो व्यवस्थामा परिमार्जन नभएसम्म माथि नजाने दाबी नै गरे।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19