काठमाण्डौ । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।

एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपाल आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो।

नेपाल सरकारले भने चालु आर्थिक वर्षको बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ। 

कोभिड महामारीविरुद्ध खोप अभियान जारी रहेको, आर्थिक गतिविधिहरु क्रमशः सामान्य बन्दै गएका कारण आर्थिक वृद्धिदरको उक्त लक्ष्य प्राप्त हुने एडीबीले अनुमान छ। युक्रेन र रुसबीच जारी युद्धका कारण विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी, अवरुद्ध आपूर्ति शृंखला, कच्चा तेललगायत वस्तुको मूल्यवृद्धिजस्ता कारण भने मुद्रास्फीतिमा चाप पर्न सक्ने एडीबीले स्पष्ट पारेको छ। यसले नेपालको भुक्तानी सन्तुलन र विदेशी मुद्रा सञ्चितीमा दबाब पर्नसक्ने समेत एडीबीको अनुमान छ। 

दक्षिण एसियाली क्षेत्रमा नेपाल र श्रीलंकाको आर्थिक वृद्धिदर कमजोर रहने एडीबीको प्रक्षेपण छ। एडीबीले श्रीलंकाको आर्थिक वृद्धिदर २.४ प्रतिशत मात्र रहने अनुमान गरेको छ। 

दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा धेरै माल्दिभ्सले ११ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने एडीबीले जनाएको छ। छिमेकी मुलुक भारतले ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने एडीबीको प्रक्षेपण छ।