– अर्जुन तिमिल्सिना

काठमाण्डौ । व्यापार–व्यवसायमा पुस्तेनी योगदान रहनु सामान्य नै हो। आजका दिनसम्म विश्वमा चर्चित अर्बपतिहरुको इतिहास हेर्ने हो भने उनीहरुको व्यावसायिक सफल्ताका लागि पुस्तेनी योगदान भेटिन्छ। 

उदाहरणका लागि नेपालका एकमात्रा डलर अर्बपति भनेर चिनिने विनोद चौधरीको र उनको परिवारिक पृष्ठभूमिलाई लिन सकिन्छ। उनका हजुरबुवाले कुनै समयमा काठमाण्डौमा आएर सानो रकमबाट व्यवसाय गरेको पाइन्छ। त्यही व्यावसायिक पृष्ठभूमिबाट हुर्केका नेपालका एकमात्रै डलर अर्बपति विनोद चौधरी आज व्यापार–व्यवसायमा संसारमा बिलियनियर बनेर चिनिएका छन्। 

यस्तो व्यावसायिक पृष्ठभूमि हेर्ने हो भने नेपालको सेयर बजारमा पनि हजुरबुवादेखि नातिसम्मको प्रवेश भइसकेको देखिन्छ। 

संसारको सेयर बजारको इतिहास हेर्ने हो भने धेरै पुरानो रहेको पाइन्छ। हालका बिलियनियर भनेर चिनिने वारेन बफेट पनि पहिलोपटक उनका बुवासँग ब्रोकर हाउस पुगेर सेयर बजारको विषयमा ज्ञान पाएका थिए। 

नेपालको सेयर बजारको इतिहास जम्मा २९ वर्षको भएको छ। औपचारिक रुपमा नेपालमा सेयर कारोबार २०५० सालबाट भएको थियो । यो छोटो समयमै नेपालको सेयर बजारमा हजुरबुवादेखि नातिसम्मले लगानी तथा योगदान गरेको कथा बिरलै सुन्न र पढ्न पाइन्छ। 

व्यावसायिक पृष्ठभूमि हेर्ने हो भने नेपालको सेयर बजारमा पनि हजुरबुवादेखि नातिसम्मको प्रवेश भइसकेको देखिन्छ। प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२)मा भेटिएका प्रयत्नराज पाण्डे यसको ज्वलन्त उदाहरण हुन्। काठमाण्डौको डिल्लीबजारमा स्थायी घर भएका १८ वर्षको कलिलो उमेरका प्रयत्नका हजुरबुवा रमेशराज पाण्डे पनि नेपालको सेयर बजारमा सक्रिय रहेका थिए। 

प्रयत्न हाल काठमाण्डौ युनिभर्सिटीमा बीबीए पहिलो सेमिस्टरमा अध्ययनरत छन्। उनले २ कक्षा पढ्दादेखि सेयर बजारको विषयमा सुनेका थिए। ‘हजुरबुवाले हजुरआमासँग सेयर बजारका विषयमा धेरै कुराकानी गर्नुहुन्थ्यो’, उनले भने, ‘हजुरबुवाले हजुरआमालाई भन्नुहुथ्यो यो सेयर भनेको ‘बढेमा बेच्नुपर्छ र घटेमा किन्नुपर्छ।’ 

त्यो बेला नाबलकै रहेका प्रयत्नले हजुरबुवालाई सोधे, ‘त्यसो भए बढेको बेला कसले किन्छ त सेयर ?’

प्रयत्नले जबाफ पाए, ‘बजारमा धेरै मानिसहरु हुन्छन्। उनीहरु सबै एउटै रणनीतिमा चल्दैनन्। कतिपय बढेपछि मात्रै किन्ने पनि हुन्छन्।’ 

आज ब्रोकर हाउसमा फाराम भर्दै गरेको अवस्थामा भेटिएका प्रयत्नले भने, ‘आधारभूत रुपमा राम्रा कम्पनी घटेको बेला किन्ने हो।’

प्रयत्नका हजुरबुवापछि बुवा पनि सेयर बजारमा सक्रिय थिए। ‘हजुरबुवा र बुवा दुवैजना बितिसक्नुभयो’, उनले भने। 

प्रयत्नले नेपालको सेयर बजारमा हुने इन्साइडर ट्रेडिङ र विभिन्न सामाजिक सञ्जालमा हुने अवाञ्छित गतिविधिमा भने असन्तुष्ट रहेका छन्। ‘सामाजिक सञ्जाल तथा क्लब हाउसमा केही ठूला भनाउँदा लगानीकर्ताहरुले जथाभावी बोलिदिँदा सेयर बजारको बदनामी भएको छ’, उनले भने, ‘यस्तो हुँदा विदेशबाट लगानी गर्नेहरु मर्कामा परेका छन्।’ 

प्रयत्नले यसअघि आमाको संरक्षकत्वमा कारोबार गर्थे। ‘अब बालिग भइसकेकोले म आफैँले कारोबार गर्छु’, उनले भने।