काठमाण्डौ । एसिया विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने अनुमान गरेको छ। 

बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी तथ्यांक सार्वजनिक गर्दै एडीबीले नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो। उसले नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ। 

गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेको थियो। सेवा क्षेत्र, रियल इस्टेट गतिविधि बढ्ने अपेक्षासहित एडीबीले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो।

यता सरकारले भने चालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। 

यसैगरी एडीबीले चालु आर्थिक वर्षमा मुद्रास्फीति केही नियन्त्रण हुँदै ६.२ प्रतिशत काम हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षमा मुद्रास्फीति ७.७ प्रतिशत थियो। 

सरकारले भने गत आर्थिक वर्षमा ७ प्रतिशतभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य लिएको थियो। तर, सो लक्ष्यभन्दा बढी मुद्रास्फीति पुगेको थियो।

चालु आर्थिक वर्षमा भने सरकारले मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य राखेको छ।