काठमाण्डौ । सन् २०२४ का लागि छ वटा देशहरूले विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको उपाधि जितेका छन् ।

विश्वभरिका राष्ट्रहरुको पासपोर्टको शक्ति मापन गर्दै आएको ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ अन्तरराष्ट्रिय हवाइ यातायात आयोगले प्रदान गर्ने तथ्यांकमा आधारित छ ।

आवासिय तथा नागरिकतासम्बन्धी परामर्श दिने कम्पनी हेल्ने एण्ड पार्टर्सले बिहीबार सार्वजनिक गरेको ‘हेन्ले पासपोर्ट इन्डेक्स २०२४’ का अनुसार सन् २०२४ का लागि सिंगापुर, जापानसँगै स्पेन, जर्मनी, फ्रान्स र इटालीले  शिर्ष स्थान कायम गरेका छन् ।

योसँगै यी राष्ट्रका नागरिकहरुले  विश्वका १९४ गन्तव्यमा बिना भिषा वा पुग्ने बित्तिकै भिषा (भिषा-अन-अराइभल) को सुविधा पाएका छन् ।

ती सबैले २२७ वटा गन्तव्यहरू मध्ये १९४ वटामा विना भिसा यात्रा अनुमति पाउने छन् ।यसअघि सिंगापुर र जापानको पासपोर्ट मात्र विश्वमा शक्तिशाली थिए ।

उता दुई एशियाली देशहरूले भने विगत पाँच वर्षमा सूचकांकमा प्रभुत्व जमाउँदै आएका छन्।

दोस्रो स्थानमा दक्षिण कोरिया, फिनल्याण्ड र स्वीडेन जस्ता देशहरू रहेका छन् जसको १९३ गन्तव्यमा भिसामुक्त पहुँच छ।

तेस्रोमा डेनमार्क, आयरल्याण्ड, नेदरल्याण्ड र अस्ट्रिया रहेका छन् । बेलायत दुई स्थान माथि उक्लिएर चौथो स्थानमा पुगेको छ ।

अष्ट्रेलिया र न्युजिल्यान्ड छैटौं स्थानमा छन् जबकि अमेरिकाले सातौं स्थान कायम राखेको छ ।

 पछिल्लो सूचिमा नेपाली पासपोर्ट सुधारिएर ९८ औैं स्थानमा आएको  छ ।

नेपालीहरुले ४० गन्तव्यमा भिषा फ्रि अनुमति पाउने सूचीमा उल्लेख छ । ३६ गन्तव्यमा मात्रै सहज प्रवेशको अनुमति पाएपनि केहि वर्ष अघि नेपाल ९७ औं स्थानमा थियो । -एजेन्सी