– काशीराम शर्मा
बाँके । गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थलको निर्माणकार्य तीव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजनाअन्तर्गत सुधारको काम भइरहेको हो ।
विसं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई विसं २०३० मा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगञ्ज विमानस्थलमा सेवा शुरू भएको हो । तराईको पुरानो र व्यवस्थित नेपालगञ्ज विमानस्थलले अन्तरराष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने भएको छ । त्यसका लागि अहिलेबाटै काम शुरु भइसकेको छ । यतिबेला विमानस्थलको रनवे विस्तारको काम धमाधम भइरहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगञ्ज आएर ठूला जेट विमान उडाउन मिल्ने गरी नेपालगञ्ज विमानस्थलको विकास र विस्तार गर्न निर्देशन दिइसकेका छन् । नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको २० वर्षे गुरुयोजनामा यसको विकास र विस्तारका लागि सन् २०४० सम्म कुर्नुपर्नेछ । त्यत्ति बेलासम्म अहिलेको विमानस्थलको आकार झण्डै दोब्बर हुनेछ भने पूर्वाधार पनि त्यही अनुरुप थपिनेछन् ।
ठूला जेट विमान उड्नसक्ने महत्वकाँक्षी योजना छ । गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ । लक्ष्यमा पुग्न जग्गा अधिग्रहणबाहेक रु १२ अर्ब ५० करोडको लागत लाग्ने अनुमान रहेको विमानस्थल प्रमुख ठाकुरले बताउनुभयो । उहाँले योजनाअनुसार काम भइरहेको बताउँदै विमानस्थललाई सुधारको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सन् २०२३ सम्म सम्पन्न हुने पहिलो चरणका लागि झण्डै दुई अर्बको बजेट छ ।
पहिलो र दोस्रो चरणको काम शुरु भइसकेको छ । सन् २०३० सम्म सम्पन्न गर्ने दोस्रोचरणका लागि सबैभन्दा बढी बजेट साढे रु ६ अर्बको बजेट छ । त्यसैगरी सन् २०३५ मा सम्पन्न हुने तेस्रो चरणमा सवा दुई अर्बको बजेट छ । चौथो चरणमा पौने दुई अर्बको लागतमा सम्पन्न गर्ने लक्ष्य छ । दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलमा झण्डै एक हजार १०० यात्रुलाई दैनिक सुविधा पुगेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजनाअनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्छ । हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुनेछ । यसका लागि डुडुवा नालालाई ३०० मिटर टाढा सार्ने योजना बनाइएको छ ।
‘चार चरणमा काम सक्ने योजना छ,’ विमानस्थल प्रमुख ठाकुरले भन्नुभयो, “पहिलो चरण र दोस्रोचरणका काम अहिले धमाधम भइरहेका छन् ।” रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै शुरु हुने उहाँले बताउनुभयो । डिपिआरले दोस्रोचरणका लागि सन् २०२५ भित्र थप रू दुई अर्ब ८ करोडको लगानीमा विमानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ ।
अन्तरराष्ट्रियस्तरको विमानस्थलका लागि डिपिआर अनुसार नै काम अगाडि बढाउँदा लामो समय सम्पूर्ण उडान बन्द गरेर काम गर्नुपर्ने हुनसक्छ । डिपिआर स्वीकृतिपछि सरकारसँग लगानी माग गरिनेछ । त्यसैगरी तेस्रो र चौथो चरणको काम भने झण्डै २० वर्षको लक्ष्यलाई प्रक्षेपण गरिएको छ । प्राधिकरणका अनुसार, तेस्रो चरणको कामले नेपालगञ्ज विमानस्थल अन्तरराष्ट्रियस्तरको बनेको देखिने छ । जसमा रु सात अर्ब ४० करोड खर्च हुने अनुमान छ । नयाँ योजना अनुसार, नेपालगञ्ज विमानस्थलको रनवे तीन सी क्याटोगरी अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो रनवे बनाइनेछ । त्यसो गर्दा हाल एटिआर विमान उडान गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजना अनुसार काम भए आगामी दुई दशकभित्र एयरबस जस्ता ठूला जेट विमान पनि सहजै उडान गर्नसक्ने विमानस्थल तयार हुनेछ ।
हाल ६ वटा मात्र विमान अटाउने पार्किङमा नौ वटा ठूला (साना ११) वटा विमान पार्किङ गर्न सकिनेछ । नेपालगञ्जबाट सबैभन्दा धेरै उडान काठमाडौँ हुन्छ । नेपाल एयरलाइन्स, बुद्ध, यतिलगायतका विमानले उडान भरिरहेका छन् । प्राधिकरणका अनुसार अहिले दैैनिक एक हजार ५०० जनाले हुम्लाको सिमकोट, मुगुको रारा, जुम्ला, बाजुरा, रूकुमलगायतका जिल्लामा उडान भर्दै आएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago