काठमाण्डौ । नेपालबाट सस्तो मूल्यमा ठूलो परिमाणमा टमाटर भारत निकासी भइरहेको खुलासा भएको छ। 

नेपालको घरेलु बजारमा अहिले टमाटरको खुद्रा मूल्य प्रतिकिलो १५० रुपैयाँको हाराहारीमा छ। जब कि नेपालबाट गएको टमाटर प्रतिकिलो भारतमा भारु ५० अर्थात ८० रुपैयाँमा बिक्री भइरहेको छ। 

आजतकमा प्रकाशित समाचारअनुसार नेपालबाट भारतमा ५ टन टमाटर भित्रिसकेको छ। त्यहाँको घरेलु बजार केही समयअघिसम्म टमाटर प्रतिकिलो भारु ३०० रुपैयाँसम्म पुगेको थियो। अहिले नेपालबाट भित्र्याइएको टमाटर सस्तोमै जनतालाई उपलब्ध गराउन भारत सफल भएको छ।

नेपालबाट सस्तोमा टमाटर भित्र्याएपछि भारतमा अहिले प्रतिकिलो ५० रुपैयाँमै धमाधम बिक्री भइरहेको छ। भारतीय जनताका लागि यो राहातको कुरा भए पनि नेपाली जनता भने महँगो मूल्यमा टमाटर किन्न बाध्य भइरहेका छन्। 

भारतको उत्तर प्रदेशमा बिहीबारदेखि नेपालबाट भित्रिएको टमाटर किलोको भारु ५० मा बिक्री भइरहेको आजकतमा प्रकाशित समाचार उल्लेख छ। अझै नेपालबाट १० टन टमाटर भारत भित्र्याउने सम्झौता भएको पनि समाचारमा दाबी गरिएको छ। ‘बिहीबारसम्म नेपालबाट भारतमा ५ टन टमाटर आइसकेको छ, अझै १० टन आउने क्रममा रहेको छ’, समाचारमा उल्लेख छ। 

भारतले आफ्नो घरेलु बजारमा भाउ नियन्त्रणका लागि चामल, गहुँलगायत खाद्यान्नको निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ। तर, नेपालमा भाउ आकासिएको अवस्थामै टमाटर भारत निर्यात गर्न दिएर जनताको ढाड सेक्ने काम भइरहेको छ।