काठमाण्डौ । नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ।
पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणाअन्र्तगत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो।
नेपालका लागि मलेसियाका चार्ज डि अफेयर्स मोद फजले विन अवु हसनसँग काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज भेटवार्ता गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मलेसियाको लगानी सुनिश्चितताका लागि आफूहरुले पहल गर्ने बताए। ‘नेपाल र मलेसियाबीच श्रमको क्षेत्रमा उच्चस्तरीय सहकार्य हुँदै आएको छ। रेमिट्यान्स भित्र्याउने दृष्टिकोणले पनि मलेसिया नेपालको उत्कृष्ट गन्तव्य बनेको छ’, उनले भने, ‘झन्डै ४ लाख नेपाली युवा मलेसियामा रोजगारीमा छन्। श्रम सहकार्यसंगै अन्य विभिन्न क्षेत्रमा लगानीका लागि हामी मलेसिया सरकारलाई आग्रह गर्दछौँ।’
नेपाल र मेलेसियाबीच लगानी सम्वन्धमा सरकारी तबरमै उच्चस्तरीय सहकार्य हुनुपर्ने अध्यक्ष मल्लले बताए। नेपालमा खासगरी पर्यटन, जलविद्युत, सूचना प्रविधि, हस्तकलामा लगानी गर्न उनले आग्रह गरे।
वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न मल्लले आग्रह गरे। मलेसियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रका तर्फबाट आफूहरुले पनि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
मलेसियाका चार्च डि अफेयर्स हसनले लगानीका लागि आफूहरु तयार रहे पनि प्रतिफलको सुनिश्चिततासम्बन्धी कानुन स्पष्ट हुन नसकेको बताए। ‘मलेसियाले सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय दक्षिण एसियाली राष्ट्रमा लगानी बढाइरहेको छ। हामीलाई नेपालमा पनि लगानी गर्न कुनै समस्या छैन’, उनले भने, ‘तर, प्रतिफलसम्बन्धी नीतिगत व्यवस्थामा स्पष्ट हुन सकेका छैनौँ।’
मेलेसियाले अहिले पनि लाखौं नेपाली युवाहरुलाई रोजगारी दिएको स्मरण गराउँदै हसनले आगामी दिनमा यो संख्या थप बढ्न सक्ने बताए। जलविद्युत, पर्यटनलगायतका क्षेत्रमा नेपालमा लगानी गर्न मलेसिया तयार रहेको हसनको भनाइ थियो।
नेपाल र मलेसियाबीच नीजि क्षेत्रमा पनि सहकार्य गर्न आवश्यक रहेकोमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जोड दिए। खासगरी अन्तर्राष्ट्रियस्तरको मेलामा एकअर्काको मुलुकका व्यावसायिक क्ष्ँेत्रलाई पनि प्रतिनिधित्व गराउन सकिए आर्थिक सम्बन्ध थप मजवुत हुने उनको भनाइ थियो।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19