काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ।
उद्योग, जलविद्युत, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो। नेपालका लागि जापानी राजदूत किकुता युताकासँग आज भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानीको सुरक्षणका लागि आफुहरुले सरकारसँग पहल गर्ने बताए। ‘वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ’, उनले भने, ‘आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जपानी लगानी सुरक्षण गर्न हामी प्रतिबद्धता जनाउँछौँ।’
जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्दर्भमा अध्यक्ष मल्लले नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुहरुको नेपालमै उद्योग खोल्न राजदूतसमक्ष आग्रह गरे। नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जपानी लगानीमा उद्योग खोलेर भारत, चीनजस्ता राष्ट्रमा व्यापार राजदूत युताकासँग आग्रह गरे।
जापानी निजी क्षेत्रसँग आफूहरुले सहकार्य गर्न चाहेको अध्यक्ष मल्लले बताए। ‘नेपाल र जपानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्ष पूरा भएको छ। जापानले जाईकालगायत आफ्ना विभिन्न दातृ निकायहरुमार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ। दुई मुलुकबीच आर्थिक सम्वन्ध पनि उच्च छ’, उनले भने, ‘यसलाई व्यावसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहन्छौँ।’
सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूत युताकासँग आग्रह गरे।
राजदूतसँगको भेटमा चेम्बरका पदाधिकारीले पछिल्लो समय नेपालले विद्युतमा सहुलियत, निर्यात प्रवर्द्धनमा विभिन्न सहुलियत घोषणा गरेकाले अन्तर्राष्ट्रिय लगानीका लागि महत्वपूर्ण अवसर रहेको बताएका थिए।
चेम्बर पदाधिकारीसँगको भेटपछि राजदूत युताकाले नेपाल र जपानबीचको दुईपक्षीय सम्बान्ध ऐतिहासिक भएको बताए। उनले भने, ‘दुई देशबीचको सम्वन्ध बलियो छ। यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहन्छौँ।’
राजदूत युताकाले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिबद्धतासमेत जनाए। नेपाल सरकारलाई जपान सरकारका तर्फबाट र आफ्ना दातृ निकायमार्फत लामो समयदेखि सहयोग हुँदै आएको र यो क्रम अझै जारी रहने उनले बताए।
जपानको लगानी भित्र्याउनका लािग नेपालले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाइ छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19