काठमाण्डौ । दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि चिलीका राजदूत जुवान एङगुलोबीच काठमाण्डौको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा दुई देशबीच सहकार्य तथा लगानीका विभिन्न विकल्पमा छलफल भएको हो।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पर्यटन, जलस्रोत, सूचनाप्रविधि तथा जडीबुटीजन्य क्षेत्रमा लगानीको सम्भावनाबारे राजदूत एङगुलोलाई अवगत गराए।
नेपाल र चिलीबीचको कूटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो भएको सन्र्दभमा आर्थिक सम्वन्धलाई थप बलियो बनाउनु पर्नेमा अध्यक्ष मल्लले जोड दिए। उनले भने, ‘दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको छ। सरकारी र निजी क्षेत्रबीचको सहकार्यमार्फत आर्थिक सम्बन्धलाई थप बलियो र प्रभावकारी बनाउन चाहान्छौँ।’
नेपाल चेम्बर र चिली चेम्बर अफ कमर्सबीच वाणिज्य तथा लगानीका क्षेत्रमा सहकार्य गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे। खासगरी नेपालको जलविद्युत तथा पर्यटनको क्षेत्रमा लगानी र प्रतिफलको सुरक्षणबारे अध्यक्ष मल्लले राजदूत एङगुलोलाई जानकारी गराए। उनले भने, ‘वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ। आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, चिलीको लगानी सुरक्षण गर्न हामी प्रतिबद्धता जनाउँछौँ।’
अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुहरुको उत्पादनका लागि नेपाल उपयुक्त गन्तव्य भएको अध्यक्ष मल्लले बताए। नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले चिलीको लगानीमा उद्योग खोलेर भारत, चीनलगायत दक्षिण एसिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने बताए।
राजदूत एङगुलोले पनि नेपालको वर्तमान आर्थिक अवस्था र लगानीको वातावरणबारे जानकारी लिएका थिए। नेपाल हिमालयको देश भन्दै उनले पर्यटनको क्षेत्रमा अथाह सम्भावना आफूले देखेको बताए।
नेपालमा लगानीको सम्भावनाबारे आफ्नो देशको निजी क्षेत्र र नागरिकहरुलाई जानकारी गराउने राजदूत एङ्गुलोले प्रतिबद्धता जनाए।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19