काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतसंग स्विस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डीएफआई) का प्रतिनिधिहरुबीच नेपालमा निजी लगानी विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ। 

नेपालको विकासमा आवश्यक निजी पुँजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको हो। प्रक्रियागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा ६ वटा डीएफआईका प्रतिनिधिहरुले सुझाव प्रस्तुत गरेका थिए। 

त्यस क्रममा मन्त्री महतले डीएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नियमन संयन्त्रका बारेमा चर्चा गर्दै उनले भने, ‘लगानी आकर्षण गर्न नयाँ ढंगले वर्तमान सरकार लागिरहेको छ र यो क्षेत्रमा धेरै प्रगती पनि हासिल भएको छ, तपाइँहरुले दिनुभएका महत्वपूर्ण सुझावका लागि धन्यवाद दिन्छु।’

सन् २०२६ पछि नेपाल अतिकम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा अब परम्परागत वैदेशिक सहायताहरु कम गरी विकासका लागि नयाँ औजारहरु लिएर अगाडि बढ्न आजको छलफल सान्दर्भिक रहेको मन्त्री महतले बताए। 

छलफलमा डीएफआइका तर्फबाट एडीबी, ब्रिटिसको बीआईआई, अमेरिकाको डीएफसी, नेदरल्यान्ड्सको एफएमओ, फ्रान्सको प्रोपार्को र स्विसको एसआईएफईएमका प्रतिनिधिहरुको सहभागिता थियो।