काठमाण्डौ । अन्ततः नेपालमा उत्पादित विद्युतीय सवारीसाधनको दर्ता गर्ने बाटो खुलेको छ। 

यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्तासम्बन्धी विशेष व्यवस्था ल्याउँदै दर्ता गर्ने बाटो खुला गरेको हो। विभागले बिहीबार एक सूचना जारी गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ। 

नयाँ व्यवस्थासँगै अब विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीसाधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक पर्ने छैन।

यसैगरी नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर बिजक र प्रचलित कानुनबमोजिम अन्तः शुल्क तिरेको प्रमाण पेस गर्नुपर्ने हुन्छ।

विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरेको हो। यसभन्दा अघि उक्त निर्देशिकाले सवारी दर्ताका लागि सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था थियो।