काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि दक्षिण कोरियासँग आग्रह गरेको छ। 

नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ पार्कलाई काठमाण्डौको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन्। ‘दुई मुलकबीचको कुटनीतिक सम्वन्ध ५० बर्ष पुग्न लागेको छ’, उनले भने, ‘लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ।’

अध्यक्ष मल्लले नेपालको जलविद्युत, पूर्वाधार क्ष्ँेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको  वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसँग आग्रह गरे। भारत, बंगलादेशजस्ता देशमा नेपालको विद्युतको उच्च माग रहेको भन्दै उनले लगानी प्रतिफलको सुनिश्चिततासमेत गरे। 

दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए। उनले भने, ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ, कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ हुन्छ।’ 

अध्यक्ष मल्लले घरेलु, हस्तकलालगायत साना र मध्यमखाले उद्योगमा लगानी गर्नसमेत राजदूत पार्कलाई आग्रह गरे। सेवा क्षेत्र, पर्यटन, कृषिलगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्ब ८१ करोड रुपैया लगानी गरेको छ। जसबाट १२ हजारभन्दा बढीले रोजगारी पाएका छन्। यस्तै कोरियाबाट यो वर्ष ११ हजार पर्यटक भित्रिएका छन्। 

चेम्बरको स्वागतपछि नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता जनाए। उनले भने, ‘नेपाल र कोरियाको सम्बन्ध आगामी बर्ष ५० औँ वर्षमा पुग्दैछ।’ 

नागरिक नागरिकबीचको सम्बन्धलाई अझ दिगो बनाउन आफूले भूमिका निर्वाह गर्ने पार्कले बताए। नेपालमा उत्पादन हुने सवै वस्तुहरु वातावरणमैत्री भएको भन्दै उनले यहाँ उत्पादित वस्तुहरु आफ्नो मुलुक भित्र्याउनका लागि पहल गर्नेसमेत बताए। 

दुई मुलुकबीच एक–अर्कालाई थप चिन्नका लागि ५० औँ वर्षगाँठका अवसरमा संयुक्त साँस्कृतिक कार्यक्रम गर्न आफूले पहल गर्ने राजदूत पार्कले बताए।