काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई आग्रह गरेका छन्। 

नेपालमा लगानीको सम्भावना र एनआरएनएको भूमिकासम्बन्धी अन्तर्क्रियालाई बुधबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारको विकास, जलविद्युत, कृषि तथा कृषिजन्य उद्योगलगायत धेरै क्षेत्रमा लगानी विस्तारको प्रचूर सम्भावना रहेको बताए। उनले यी क्षेत्रमा लगानी जुटाउन तथा प्रविधि भित्र्याउन एनआरएनएले मुलुकबाहिरबाट विशेष पहल गर्न सक्ने पनि बताए। 

आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले गैरआवासीय नेपालीसँगको सहकार्यमा आइएमई ग्रुपले जलविद्युत् पर्यटन पूर्वाधार तथा अन्य धेरै क्षेत्रमा सहकार्य गरिसकेको उल्लेख गर्दै नेपालमा धेरै र नयाँ सम्भावना रहेको र तिनीहरुमा लगानी र प्रविधि भित्र्याउन सकियो भने त्यसबाट आफ्नो मातृभूमिलाई योगदान गर्नुका साथै यथोचित फाइदासमेत लिन सकिने बताए। 

एफएनसीसीआई र एनआरएनएबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले एफएनसीसीआईले एनआरएनलाई नेपालमा उपयुक्त साझेदार छनौटका लागिसमेत सहयोग गर्नसक्ने बताए। उनले पर्यटन पूर्वाधार, जलविद्युत, सूचना प्रविधि, केबलकार, रिसोर्ट तथा थिम पार्कहरुमा लगानी प्रवर्द्धनसँगसँगै प्रत्येक लगानीकर्तालाई नाफाको हिस्सेदार बनाउन सकिने प्रतिबद्धतासमेत व्यक्त गरे। 

एनआरएनएका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो मातृभूमिमा लगानी गरी रोजगारी सिर्जना गर्ने तथा उचित मुनाफा कमाउने अवसरहरु छोप्न एनआरएनएका साथीहरू तयार रहेको भन्ने विश्वास लिएको बताए। उनले उद्यमशीलतामार्फत नेपाललाई समृद्ध बनाउने यात्रामा एनआरएनए र एफएनसीसीआई सँगसँगै अघि बढ्न र नेपालको समृद्धि र समुन्नतिसँग जोडिएको विश्वभर रहेका नेपालीहरुको सम्मान र सपना साकार पार्न सबैले पहल गर्नुपर्नेमा जोड दिए। 

एनआरएनए राष्ट्रिय समन्वय परिषद जापानले आयोजना गरेको कार्यक्रममा १०० जनाभन्दा बढी गैरआवासीय नेपालीको उपस्थिति थियो।