-भीष्मराज ओझा
काठमाडौँ । मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र थप विश्वसनीय बनाउन शुक्रबारदेखि ‘मौसमी बेलुन’ को नियमित उडान शुरु गरिएको छ ।
मौसमी बेलुन त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रेडियसन उडान केन्द्रबाट बिहान ५ः४५ बजे नियमित उडान शुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मन्त्रालयअन्तर्गतको विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा गत असार ६ गतेदेखि उक्त बेलुन उडाउन पहिलो पटक परीक्षण शुरू गरिएको थियो । परीक्षण उडानपछि आवश्यक तयारी र पूर्वाधार निर्माण गरी बेलुन नियमित उडान शुरु गरिएको हो ।
हाईड्रोजन ग्यास भरिएको यस्ता बेलुनमाथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्दछ । बेलुनमा जडित सेन्सरले नियमित रूपमा मौसमी तथ्याङ्क पठाउने गर्दछ । मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड हुने गरेको छ ।
नेपालको मौसमी सूचना प्रणालीमा सुधार तथा आधुनिकीकरणका लागि विश्व बैंकको सहयोग परियोजनाअन्तर्गत सो उडान शुरु गरिएको मन्त्रालय अन्तर्गतको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिनुभयो । बेलुन उडान परियोजनाको काम गरिरहेको महाविर श्री कम्पनी लिमिटेडले एक महीनाको नियमित सफल उडानपछि सो कार्य विभागलाई हस्तान्तरण गर्ने उहाँले बताउनुभयो ।
विभागका अनुसार उक्त बेलुन उडाउन सेन्सरसहितको दैनिक खर्च २०० अमेरिकी डलर लाग्छ । उक्त परियोजनाअन्तर्गत हाल दुई वर्षका लागि पुग्ने खर्चको जोहो भइसकेको र त्यसपछिको खर्चका सम्बन्धमा सरकारले नियमित बजेटमा राख्नुपर्ने विभागको भनाइ छ । हाल विभागअन्तर्गतको पूर्वानुमान महाशाखाले ग्लोबल मोडेलबाट नेपालको तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ । छिमेकीमूलुक भारतमा भने सातदेखि १० दिनसम्मको मौसम पूर्वानुमान गरिन्छ ।
बेलुन प्रत्येक दिन रेडियसन उडान केन्द्रबाट बिहान ५ः४५ बजे उडाइने उक्त परियोजनाका सम्पर्क अधिकृत एवं वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । “अब नियमित उडान गर्ने गरी शुरु गरेका छौँ, एक महीनाको सफल उडानपछि विभागलाई हस्तान्तरण हुन्छ”, उहाँले भन्नुभयो ।
शुक्रबारदेखि नियमित उडान शुरु भएको बेलुनको मौसमी तथ्याङ्क प्रयोगयोग्य रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “हामीसँग अहिलेसम्म सतहको मात्र अवलोकन गर्ने अवस्था थियो, अब माथिल्लो वायुमण्डलको मौसमी तथ्याङ्क अवलोकन गर्न सकिन्छ ।” माथिल्लो वायुमण्डलको सूचना मौसम पूर्वानुमानका लागि उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुनेछ । बेलुनको तौल करीब ३५० ग्राम रहेको र बेलुनसँगै १०० ग्राम तौलका अन्य उपकरण छन् ।
बेलुनले प्रत्येक सेकेण्डमा उच्च वायुमण्डलको तापक्रम, हावाको गति र दिशा, सापेक्षिक आद्रताको जानकारी दिन्छ । त्यसका आधारमा मौसम पूर्वानुमान गरिन्छ । मौसमी बेलुनले माथिल्लो वायुमण्डलसम्म पुगेर मौसमको विवरण दिने भएकाले पूर्वानुमान गर्न थप सहज हुने विभागले जनाएको छ ।
बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटका माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यस्तो बेलुन भरपर्दो मौसमी सूचना प्राप्त गर्नका लागि सधैँ दैनिक उडाइरहनुपर्छ । यसरी उडाइएका बेलुन काठमाडौँ उपत्यका वरपरका स्थानमा सोही बिहान ९÷१० बजे खस्ने गरेका छन् । बेलुनमा रहेको प्यारासुटमा रहेको उपकरण कसैले फेला पारेमा विभागमा पु¥याइ दिनुहुन वा सम्पर्क गर्न सूचना टाँस गरिएको छ । यद्यपि प्रयोग भइसकेको उपकरण हाल पुनःप्रयोग गर्न नसकिने विभागले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19