काठमाण्डौ । नेपालमा अध्यापन सुरु भएको ३ वर्षमै एक्चुरियल साइन्सको लोकप्रियता बढ्दै गएको छ । यो विषय अध्ययन गरेका जनशक्ति हालसम्म नेपालमा नहुनु र अत्याधिक माग हुनुले पनि लोकप्रियता बढ्दै गएको हो ।
एक्चुरियल साइन्स विषय विश्वमै सहजै बिक्न सक्ने उत्पादन भएकाले समेत नेपालमा पनि विस्तारै यसप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको पाइन्छ । विशेषगरी बीमा क्षेत्रमा एक्चुरियल साइन्सको अध्ययनपछि एक्चुरी भई मासिक १० लाखभन्दा आम्दानी हुने र रोजगारको सुनिश्चितताका कारणले समेत यो अभिभावक र विद्यार्थीको रोजाइको विषय बनिरहेको छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्कुल अफ म्याथम्याटिकल साइन्समा अध्ययन भइरहेको ब्याचर म्याथम्याटिकल साइन्स इन एक्चुरियल साइन्सको अध्ययन गर्न प्रवेश परीक्षा उत्तीर्ण गरी भर्ना हुन आएका नवविद्यार्थीहरुको चौथो ब्याचको हिजो मंगलबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। यस विषयका विविध आयाम र भविष्यबारे कार्यक्रममा सहभागी विद्यार्थीलाई जानकारी गराइएको थियो।
आज बुधबारदेखि पढाइ सुरु भएको एक्चुरियल साइन्समा ३६ जना विद्यार्थीको कोटा छ । जसमा २ सयजना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए। मेरिट लिस्टका आधारमा ३६ जनाले अध्ययन गर्ने मौका पाएका छन् ।

कार्यक्रममा उपस्थिति केही विद्यार्थीसँग बिजशालाले यो विषय रोज्नुका कारणबारे जिज्ञासा राखेको थियो । विद्यार्थीहरुले आफ्नो अनुभव बिजशालालाई यसरी सुनाए–
प्रार्थना सुवेदी, मैतीदेवी
मैले प्लस टु व्यवस्थापन विषयमा गरेकी हुँ । नयाँ विषय पढ्न पाएकोमा उत्साहित छु । अलिअलि डर पनि लागिरहेको छ । तर म डेडिकेटेड भएर अघि बढ्छु । म ११ कक्षा पढ्दा गणित शिक्षकले यो विषय पढ्न सुझाउनुभएको थियो। तर मैले सीए पढ्ने चाहना राखेँ । १२ पासभएपछि सीए पढ्ने दाइकै सिफारिसमा म यहाँ पढ्न आएँ ।
प्रसन्नता सेढाईं, नारायणथान
मैले म्यानेजमेन्टमा ए लेभल अध्ययन गरेकी हँु । अहिले मैले पनि एक्चुरी पढ्न पाएकोमा लक्की महसुस गरेकी छु । गणितप्रति मेरो रुचि र साथीको बाबाको सल्लाहमा मेलै यो विषय पढ्न लागिरहेकी छु । म एकदमै खुशी छु ।
गौरव खनाल, पोखरा
मेरो प्लस टु साइन्समा हो । नेटमा यो विषयबारे जानकारी पाएपछि म यहाँ पढ्न आए हुँ । मेरो घरमा मलाई इन्जिनियर बनाउने कुरा थियो । मैले थापाथलीस्थित इन्जिनियरिङ कलेज पूर्ण छात्रवृत्ति पनि पाएको थिएँ । तर मलाई एक्चुरी पढ्ने इच्छा जाग्यो । म यो विषय पढ्ने सुअवसर पाएकोमा एक्दमै एक्साइटेड छु ।
सागर बस्ताकोटी, सातदोबाटो
मेरो प्लस टु व्यवस्थापन विषयबाट हो । साथीभाइको सिफारिसमा मैले यो विषय अध्ययन गर्न गइइरहेको छु । म धेरै खुसी छु ।
सामना ओली, कोटेश्वर
मेरो चाहिँ प्लस टु साइन्स ब्याकग्राउन्ड हो । मेरो बाबा इन्स्योरेन्स फिल्डकै हुनुहुन्छ अनि दिदी पनि यहीँ अध्ययन गर्ने भएकाले समेत उहाँहरुकै सल्लाहमा पढ्न गइइरहेकी छु । डाक्टर बन्ने सपना भए पनि यो विषय पढ्न पाउँदा खुसी लागिरहेको छ ।
विशाल ढकाल, स्याङ्जा
मेरो प्लस टु साइन्स हो । मेरी दिदीले यो विषयको स्कोप र तलब राम्रो भएको जानकारी दिनुभएपछि यो विषय पढ्न आँटेको हुँ । यो विषय स्किल्सलाई प्राथमिकता दिने भएकाले समेत म एकदमै खुशी छु ।
मिराज सिंह, वनस्थली
मेरो प्लस टु बायोलोहीबाट हो । मेडिकलमा इन्ट्रेस्ट नभएपछि र नयाँ कोर्स भन्ने सुनेर यो विषयको स्कोपसमेत भएकाले एक्चुरी बन्ने सपनामा अध्ययन गर्न आएको छु ।
श्रीदीक्षा थापा, कोटेश्वर
सोसल मिडियाबाट एक्चुरियल साइन्सका बारे सुनेर सोधखोज गर्दै यो विषय पढ्न आएकी हुँ । इन्जिनियर बन्ने सपना थियो । यद्यपि बाबाले उत्प्रेरित गर्नुभएपछि यो विषयको स्कोप राम्रो हुने देखेर अध्ययन गर्न गइरहेकी छु ।
आकृति पौडेल, वनस्थली
मेरो चाहिँ प्लस टु साइन्स हो। मेरा आफन्त सबै बाहिर छन् । उहाँहरुले भनेर नै यहाँ आएको हो । मलाई गणितमा विशेष रूचि छ । डाटा एनालाइटिक्स मेरो रोजाइको क्षेत्रसमेत हो । पहिले बाहिर जाने सोच थियो तर अब जान्न । म रिसर्च साइन्टिस्ट बन्छु ।
साम्भवी पौडेल, म्हैपी
मैले ए लेभल पढेकी हुँ । पहिले बाहिर जाने सोच थियो । परिवारले यहीँ बसेर पढ्ने हौसला दिनुभएपछि गणित विषय अध्ययनको रूचि भएको र भविष्य राम्रो देखेकोले म पढ्न गइरहेकी छु ।
सुगम दाहाल, कौशलटार
इन्टरनेटबाट थाहा पाएर यो विषयको भविष्य पनि व्यापक भन्ने देखेर नै म यहाँ आएको हुँ । मेरो प्लस टू साइन्स हो । भर्खरै आएको विषय भएकाले मलाई राम्रो लाग्यो ।
भावुक ओली, काँडाघारी
मेरो दाजुले भनेर म यहाँ पढ्न आएको हुँ । मलाई गणित विषयमा विशेष रुचि पनि छ । अनि नयाँ विषय भएकाले समेत चाख लाग्यो । जोखिम व्यवस्थापन गर्ने ठाउँमा प्रमुख कर्मचारी बन्न पाइने भएकाले म यहाँ अध्ययन गर्न आएको हुँ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19