– प्रकाश सिलवाल

काठमाण्डौ । कुन पेशामा कति जनशक्ति तालिम प्राप्त छन् भन्ने आँकडा पाउन पहिला मुस्किल थियो। पछिल्लो समयमा सरकारले सम्बन्धित निकाय र संस्थाबाट उत्पादित तालिम प्राप्त जनशक्तिको एकीकृत विवरण संकलन शुरु गरेको छ।

समयको मागसँगै प्राविधिक र व्यावसायिक शिक्षालाई क्रमशः प्राथमिकता दिन थालेको सरकारले आवधिक रुपमा यस प्रकारको एकीकृत तथ्याङ्क संकलन र विश्लेषण गरी प्रकाशनको थालनी गरेको हो। सरकारले यसअघि कुन क्षेत्र वा पेशामा मुलुकका लागि कति जनशक्ति आवश्यक पर्छ भन्ने जनशक्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिसकेको छ। सो प्रतिवेदनमा औपचारिक र अनौपचारिक शिक्षाका विधामा आगामी २५ वर्षसम्मको जनशक्ति प्रक्षेपण गरिएको छ। 

सरकारले प्राविधिक शिक्षा, व्यावसायिक एवं सीपमूलक तालिमलाई प्राथमिकता दिई लगानी बढाउने नीति लिनुका साथै तालिम प्राप्त जनशक्तिको सङ्ख्या बढ्दा थाल्दा रोजगारदातालाई श्रम बजारको विश्लेषण गर्न सहज हुने ठानिएको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प लिएको वर्तमान सरकारले गत कात्तिकमा जारी गरेको राष्ट्रिय शिक्षा नीति, २०७६ मा प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म प्राथमिकता दिने उल्लेख गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पद बहाली गर्दा सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय स्थापनाको निर्णय गर्नुभएको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सीप कार्यक्रमको प्राविधिक सहयोगमा तयार गरेको ‘प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको एकीकृत वार्षिक प्रतिवेदन, २०७६’ मा आर्थिक वर्ष २०७५ र ७६ मा सङ्घीयस्तरका १० मन्त्रालय र मातहतका १८ निकायले सञ्चालन गरेका विभिन्न तालिमको विश्लेषण गरिएको छ। ती निकायबाट कूल ८४ हजार ६५० ले लामो, छोटो अवधिको व्यावसायिक तथा प्राविधिक शिक्षा र तालिम दिइएको जनाइएको छ। 

सो अवधिमा उत्पादित जनशक्तिमध्ये सबैभन्दा बढी विल्डिङ इलेक्टिसियन (१०.८५ प्रतिशत) र टेलरिङमा १०.०७ प्रतिश) देखिएका छन्। यसपछि असिस्टेन्ट ब्यूटिसियनमा ६.५८ प्रतिशत, अफ सिजन भेजिटेल प्रोड्युसियरमा ५.११ प्रतिशत र ब्रिक लेयर मेशिनमा ४.३१ प्रतिशत जनशक्ति सो अवधिमा तालिम प्राप्त भएका छन्। चार प्रतिशतभन्दा कम प्रतिशतमा उत्पादित जनशक्तिमा मेसन, जुनियर प्लम्बर, कमिस तेस्रो, जुनियर कम्प्युटर हार्डवेयर टेक्निसियन, ड्रेस मेकर टेलरिङ, सामुदायिक पशु सहायक र मोबाइल टेक्निसियन प्रमुख पेशा देखिएका छन्। 

यसैगरी त्यसपछि न्यून प्रतिशतमा सामुदायिक कृषि सहायक, पर्यटक रुट गाइड, कमिस दोस्रो, फर्निचर मेकर, पर्यटक गाइड छन्। यीबाहेक अन्य विविध पेशामा ३५.१६ प्रतिशत जनशक्ति सो अवधिमा उत्पादिन भएका छन्।

तालिम प्राप्तमध्ये ४१.१ प्रतिशतअर्थात् ३४ हजार ७६८ ले लामो अवधिका र बाँकी ५८.९ प्रतिशतअर्थात् ४९ हजार ८८२ ले एकदेखि छ महिनासम्मका व्यावसायिक तालिम कार्यक्रमबाट लाभ लिएका छन्। विषयगत विश्लेषणका आधारमा हेर्दा यसरी तालिम लिनेमा सबैभन्दा बढी १६ हजार २५५ अर्थात् ३२.६ प्रतिशत पर्यटन तथा अन्य सेवाका तालिम दिइएको पाइएको छ।

यस्तै निर्माण क्षेत्रमा ३२.२ अर्थात् १६ हजार ५६, कृषि तथा वन क्षेत्रमा १७ प्रतिशत अर्थात् आठ हजार ३०७, उत्पादनशील क्षेत्रमा १६ प्रतिशत अर्थात् सात हजार ९६० ले तालिम पाएका छन्। मन्त्रालयगत आधारमा कूल तालिम प्राप्तमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबैभन्दा बढी ७३.९ प्रतिशतलाई तालिम शिक्षा दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०.८ प्रतिशतलाई तालिम दिएको छ। 

शिक्षा मन्त्रालय सचिव महेशप्रसाद दाहालले प्राविधिक र व्यावसायिक क्षेत्रमा एकीकृत तथ्याङ्क संकलनको निरन्तरताका साथै निकायगत समन्वयको खाँचो रहेको बताउनुभयो। मन्त्रालय मातहतको प्राविधिक तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न विषयमा प्राविधिक शिक्षा दिइरहेको छ भने विश्व बैंकको सहयोगमा व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दोस्रो) सञ्चालन गरिरहेको छ।