काठमाण्डौ । चैत ११ गतेदेखि जारी गरिएको लकडाउन र सरकारका प्रभावकारी प्रयासहरुका कारण नेपालमा नयाँ कोरोना संक्रमित फेला पर्ने क्रम ठप्प बनेको छ ।
सरकारले कैलाली र कञ्चनपुरमा एकैदिन ३ जनामा कोरोना संक्रमण भेटिएसँगै अवस्था गम्भीर बन्नसक्ने भन्दै द्रूत गतिमा स्वाब परीक्षणको कामलाई तीव्र पारे पनि विगत ७ दिनदेखि कुनै पनि नयाँ संक्रमित फेला नपरेका हुन् ।
यसलाई सुखद मान्न सकिने भए पनि अहिले नै हौसिहाल्ने बेला नभएको स्वास्थ्य विज्ञहरु बताउँछन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ जना मात्र छ । एकजना उपचारपछि फर्किसकेका छन् भने ८ जना आइसोलेसनमा छन् । ती ८ मध्ये २ जनाको टेकूमा, ४ जनाको सेती प्रादेशिक अस्पतालमा र २ जनाको बाग्लुंगमा उपचार भइरहेको छ ।
सरकारले पछिल्लो समय कैलाली, कञ्चनपुर, बाग्लुङ लगायतका जिल्लाहरुमा द्रूत गतिमा कोरोना संक्रमणको परीक्षण गरिरहेको छ ।
काठमाण्डौबाट विज्ञहरुको टोली पठाएर द्रूत गतिमा जारी राखिएका यस्ता परीक्षणहरुको रिपोर्ट धमाधम नेगेटिभ आइरहेको छ ।
पछिल्लो समय कैलालीमा ३३९, कञ्चनपुर १३७ वटा गरी कुल ४७६ वटा परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कपीलवस्तुमा समेत पछिल्लो समय २१ जनाको स्वाब परीक्षण भएकोमा उनीहरुको रिपोर्ट पनि नेगेटिभ नै आएको छ । यस्तै, बाग्लुङमा परीक्षण गरिएका १९ जनाको रिपोर्ट समेत नेगेटिभ नै आएको डा. देवकोटाले जानकारी दिए ।
अन्य जिल्लाहरुमा पनि तीव्र गतिमा परीक्षण थालिएको उनले जानकारी दिए ।
डा. देवकोटाका अनुसार हालसम्म प्रयोगशाला परीक्षण संख्या ३ हजार ५२४ वटा पुगेको छ । ६२३ वटा नयाँ टेस्ट भएका छन् । तीमध्ये ४०१ वटा टेस्ट काठमाण्डौमा र २२९ वटा टेस्ट काठमाण्डौ बाहिर गरिएको छ । काठमाण्डौ र बाहिरका प्रयोगशालामा परीक्षणका क्रममा रहेका नमूनाको संख्या ८०० भन्दा बढी छ ।
पछिल्लो अपडेटअनुसार देशभरका क्वारेन्टाइनमा ८ हजार ६६० जना छन् । आइसोलेसनमा १२५ जना छन्, जसमध्ये उपत्यकाभित्र १५ जना, बाहिर ११० जना छन् ।
स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा प्रत्येक प्रदेशमा कम्तीमा ५ हजारको दरले नमूना परीक्षण गर्ने लक्ष्य लिई सोहीअनुसार आवश्यक स्वास्थ्य सामाग्री र टेस्ट किटहरुको प्रबन्ध गरिसकिएको प्रष्ट्याएको छ।
कोशी अस्पतालमा शुक्रबारदेखि पीसीआरबाट नमूना परीक्षण सुरु भएको छ । योसँगै देशभर कुल ११ स्थानबाट पीसीआर प्रविधिबाट परीक्षण हुन थालेको डा. देवकोटाले जानकारी दिए ।
रोग इपिडिमियोलोजीबाट खटिएको टोलीलाई नेपाली सेनाले समेत सहयोग गरिरहेको छ । सेनाको सहयोगमा डडेलधुराबाट ११९, बैतडीबाट ४२५ र कर्णालीबाट ८५ नमूना संकलन गरी त्यसको परीक्षण टेकूस्थित केन्द्रीय प्रयोगशालामा भइरहेको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago