काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको एक्टिभ केसको संख्या घटेर १४ मा सीमित बन्ने संभावना बढेको छ ।
गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको जहाजबाट काठमाण्डौ अवतरण गरेकी बाग्लुङकी ६४ वर्षीया महिलाको तेस्रो परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएसँगै एक्टिभ संक्रमितको संख्या १४ मा झर्ने संभावना देखिएको हो ।
यसअघि नेपालकै पहिलो कोरोना संक्रमित उपचारपछि घर फर्किइसकेका छन् । कुल संक्रमितको संख्या १६ रहे पनि यी महिलाको चौथो रिपोर्ट समेत नेगेटिभ आएको खण्डमा २ जना संक्रमणबाट मुक्त भएको मान्न सकिनेछ ।
संक्रमितमध्ये बाँकी १४ जनाको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ । सबैको अवस्था सामान्य छ ।
धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले टेलिफोनमा दिएको जानकारीका अनुसार बाग्लुङकी ६४ वर्षीया महिलाको तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएको हो।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले समेत यो कुरालाई पुष्टि गरेका छन् । उनका अनुसार अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमितमध्ये पुनः परीक्षण गरिएकाहरूको नेगेटिभ रिपोर्ट आएको नेपालकै लागि यो पहिलो घटना हो।
तेश्रो परीक्षण नेगेटिभ आएसँगै ती महिलाको चौथो परीक्षणका लागि आजै थ्रोट स्वाबको नमूना संकलन गरिसकिएको छ । डा. पोखरेलका अनुसार नेगेटिभ रिपोर्ट आएको २४ घण्टाभित्र अर्को नतिजा पनि नेगेटिभ आए बिरामीलाई डिस्चार्ज गरिनेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19