काठमाण्डौ । आइतबार पुनः एकैपटक देशका विभिन्न क्षेत्रमा १० जना कोरोना संक्रमित फेला परेका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्जमा ९ जना र पर्सामा एकजना गरी थप १० जना कोरोना संक्रमित फेला परेका हुन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० पुगेको छ । 

नेपालगञ्जमा संक्रमण पुष्टि भएका ९ जनामध्ये ५ जना पुरुष र ४ जना महिला रहेका बताइएको छ । पर्सामा फेला परेका नयाँ संक्रमित भने ३६ वर्षीय पुरुष हुन् । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा कोरोना पुष्टि भएका ९ जनालाई अस्पताल ल्याउने प्रक्रिया सुरु गरिएको छ ।

यीबाहेक देशभरका विभिन्न अस्पतालमा ४४ संक्रमितको उपचार भइरहेको छ । हालसम्म १६ जना भने उपचारपछि ठीक भएर घर फर्किसकेका छन् ।