काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या १०० नाघेको छ । 

कपिलवस्तुका २ पुरुषहरुमा पनि बिहीबार कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १०१ पुगेको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणको क्रममा कपिलवस्तुका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमितहरुमा कपिलवस्तुु ८ का २२ वर्षीय र १६ वर्षीय पुरुष रहेका छन् । 

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

यसअघि देशका विभिन्न क्षेत्रमा ९९ जना कोरोना संक्रमित फेला परिसकेका छन् । 

हालसम्म २२ कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् भने भोलि थप ८ जना घर फर्किदैछन् । यसरी १०१ जनामध्ये ३० जना निको भएर घर फर्किने र बाँकी ७१ जनाको विभिन्न क्षेत्रका अस्पतालमा सामन्य अवस्थामा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।